टोकियो ओलम्पिक अन्तर्गत एसिया क्षेत्रको महिला छनोटमा समूहको अन्तिम खेलमा नेपालले अाज बंगलादेशसँग खेल्नेछ।
नेपालले दोस्रो चरणमा स्थान बनाउन बंगलादेशलाई भारी अन्तरले हराउनु पर्नेछ। म्यानमारको याङगोनकाे थुवान्ना स्टेडियममा हुने खेल नेपाली समय अनुसार सवा दुई बजेबाट सुरु हुनेछ। जारी प्रतियोगितामा नेपाल अपराजित टिम भए पनि स्पष्ट जित भने निकाल्न सकेको छैन।
यता बंगलादेश दुबै खेलमा भारी अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरीसकेको छ। अाजको खेलमा नेपालले बंगलादेशलाई धेरै गोल अन्तरले हराएमा र भारत र म्यानमार बीचका खेलमा एक टिमले भारी अन्तरले विजयी भएमा नेपालले दोस्रो चरणमा स्थान बनाउनेछ।
भारतले पहिलो खेलमा नेपालसँग एक एक गोलको बराबरी खेलेपछि दोस्रो खेलमा बंगलादेशलाई सात एक गोलले हराएपछि म्यानमारसँग समान चार अंक भए पनि गोल अन्तरको आधारमा समूहको शीर्ष स्थानमा छ। यस्तै म्यानमार दोस्रो स्थानमा छ।
नेपालको दुई खेलबाट दुई अंक रहेको छ। यता म्यानमारले पहिलो खेलमा बंगलादेशलाई पाँच शून्यले हराएको थियो भने नेपालसँग बराबरी खेलेको थियो। अाज नेपाल बराबरीमा रोकिएमा उसलाई समूहको तेस्रो स्थानमा रहने उत्कृष्ट टिमका आधारमा दोस्रो चरणमा स्थान बनाउने संभावना हुनेछ।
नेपाल र बंगलादेश महिला फुटबलमा चिरप्रतिद्धन्द्धी टिम हुन्। महिला साफ फुटबलको पहिलो संस्करणदेखि एक अर्काविरुद्ध भिडेका यी दुई टिमले अहिलेसम्म दुई पटक खेलका छन् र दुबै पटक नेपाल विजयी भएको छ।