शहीद स्मारक ए डिभिजन लिग फुटबलको दोस्रो चरणको खेल शनिबारदेखि शुरु भएको छ। गत असोज १३ गतेदेखि शुरु भएको लिग बंगबन्धु गोल्डकपका कारण केही दिन स्थगित भएको थियो।
दशैं अगडि पहिलो चरणको खेल सकिएकोमा शनिबार देखि मात्रै दोस्रो चरणको खेल शुरु भएको हो। दोस्रो चरणको खेल अन्तर्गत शनिबार २ वटा खेल भएकोमा मनाङ मस्र्याङ्दी र विभागीय क्लब त्रिभुवन आर्मीले स्पष्ट तीन अंक जोडका छन्। एपीएफ मैदान हलचोकमा भएको पहिलो खेलमा मनाङले न्यूरोड टिम एनआरटी माथि २–० को जित निकालेको हो। मनाङले दुवै गोल पहिलो हाफमा गरेको थियो।
मनाङका अञ्जन विष्टलाई एनआरटीका खेलाडीले लडाए पछि पाएको पेनाल्टी पाएको थियो। उक्त पेनाल्टीलाई अञ्जनले गोलमा परिणत गर्दै सुरुआती अग्रता दिलाएका थिए।
यसैगरी ३७औं मिनेटमा मनाङका अफ्रिकन खेलाडी ओलावाले आफिजले दोस्रो गोल गरेका थिए। त्यसपछि थप गोल हुन नभए पछि मनाङले तीन अंक जोड्न सफल भयो। पहिलो खेलमा पनि जित निकालेको मनाङले तालिकामा ६ अंक जोडेको छ।
शनिबारनै भएको दोस्रो खेलमा विभागीय क्लब त्रिभुवन आर्र्मीले पहिलो जित निकालेको थियो।
आर्मीले च्यासल युथ क्लबमाथि १–० को जित निकालेको हो। पहिलो खेलमा एनआरटीसँग २–२ गोलको बराबरी खेलेको आर्मीले शनिबार च्यासलमाथि पहिलो हाफमै अग्रता लिएको थियो।
पहिलो हाफको २९ औं मिनेटमा गोल गर्दै अग्रता लिएको आर्मीले अन्तिमसम्म उक्त अग्रता जोगाउन सफल भयो। आर्मीका लागि विकास खवासले गोल गरेका थिए। पहिलो हाफमा १ गोलले पछि परेको च्यासलले दोस्रो हाफमा गोल फर्काउने प्रयास गरे पनि सफल हुन सकेन।