धनुषाको बटेश्वर गाउँपालिका २ सितापुरमा सम्पन्न सप्ताहव्यापी प्रदेशस्तरीय फुटबल प्रतियोगिताको उपाधिमाथि महोत्तरी एकेडमी बेंखारी टीमले कब्जा गरेको छ ।
शनिवार सम्पन्न अन्तिम खेलमा सप्तरीको फतेपुर ११ टीमलाई शून्यका विरुद्ध तीन गोलले पराजित गर्दै महोत्तरी एकेडमी बेंखारीले गोल्डकप प्रतियोगिताको पहिलो उपाधिमाथि कब्जा गरेको हो ।
बटेश्वर गाउँपालिकाको समन्वय एवं स्थानीय बन्देवीमाई युवा क्लबको आयोजनामा भएको सातौं वन्देवीमाई गोल्डकप प्रतियोगिताको प्रथम पुरस्कार ५१ हजार रुपैयाँ नगद र गोल्डकप महोत्तरी एकेडमी टीम प्राप्त गर्न सफल भएको छ ।
त्यस्तै दोस्रो पुरस्कार २५ हजार रुपैयाँ अन्तिम खेलमा सहभागि अर्को टीम सप्तरी फत्तेपुरले पाएको छ । विजेताहरुलाई अन्तिम खेल समापन पश्चात शनिवार साँझ नै एक समारोहबिच पुरस्कार समेत प्रदान गरिएको छ ।
पुरस्कार वितरण समारोहका प्रमुख अतिथि नेकपाका नेता एवं संघीय सरकारका युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले महोत्तरी विजेता टीम एकेडमीका कप्तानलाई प्रथम पुरस्कार हस्तान्तरण गरेका छन् भने दोश्रो पुरस्कार अन्तिम खेलमा सहभागि अर्का टीम सप्तरी फत्तेपुरलाई नेकपा प्रदेशसभा सदस्य सत्रुधन महतोले प्रदान गरे ।