इंग्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर म्यानचेष्टर सिटीले वाटफोर्डलाई पराजित गरेको छ।
गएराति भएको खेलमा वाटफोर्डलाई उसकै घरेलु मैदानमा २–१ गोल अन्तरले पराजित गर्दै सिटीले दोस्रो स्थानको लिभरपुलसँगको अग्रता बढाएको हो।
खेलको ४० औं मिनेटमा लोरे सानेको गोलबाट म्यानचेष्टर सिटीले सुरुवाती अग्रता लिएको थियो। पहिलो हाफमा १–० को अग्रता लिएको म्यानचेष्टर सिटीले दोस्रो हाफमा थप एक गोल गर्दा एक गोल खान पुग्यो।
खेलको ५१ औं मिनेटमा रियाड महरेजले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे। खेलको ८५ औं मिनेटमा वाटफोर्डका लागि अब्डौलय डौकोरले गोल गर्दै अग्रता २–१ मा झारेका थिए। बाँकी समयमा गोल गर्न नसकेपछि वाटफोर्ड सिटीसँग २–१ ले पराजित भयो।
जितसँगै लिगको शीर्ष स्थानमा रहेको सिटीले १५ खेलबाट ४१ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको लिभरपुलको १४ खेलबाट ३६ अंक छ। वाटफोर्ड १५ खेलबाट २० अंकका साथ ११ औं स्थानमा रहेको छ।