अन्तर्राष्ट्रिय फिटनेश फर बडिबिल्डिङ (आइएफबिबी) लिग नेपालको आयोजनामा अन्तर्राष्ट्रिय बडिबिल्डिङका हस्ती सम्मिलित ‘प्रोफेसनल लिग बडिबिल्डिङ च्याम्पियनसिप–२०१९’ हुने भएको छ।
नेपालमा पहिलो पटक उक्त च्याम्पियनसिप फागुन ३ र ४ गते हुन लागेको हो। च्याम्यिनसिपमा २० भन्दा बढी राष्ट्रका खेलाडीको सहभागिता रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक सङ्घका अध्यक्ष सानु गुरुङले जानकारी दिए। एक करोड ८८ लाख ४२ हजार खर्च हुने सो च्याम्पियनसिपमा करीब २ सय खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजक संस्थाले जनाएको छ।
यस्तै अमेरिकामा आइएफबिबी प्रोफेसनल लिगले आयोजना गर्ने शारीरिक सुगठनको विश्वकप मानिने ‘मिस्टर ओलम्पिया’मा नेपाली खेलाडीको सहभागिता रहनेछ।
उक्त प्रतियोगितामा सहभागिता जनाउन लामो समयको प्रयासपछि नेपालले पहिलोपटक चार प्रो कार्ड पाएको अध्यक्ष गुरुङले बताए। नेपालले पुरुष फिजिक्स, क्लासिक फिजिक्स, पुरुष बडिबिल्डिङ र महिला सुगठनतर्फको प्रो कार्ड पाएको छ। विश्वभरिका खेलाडीले यी चार प्रो कार्ड जितेर प्रत्येक वर्ष अमेरिकाको लस भेगासमा आयोजना हुने ‘मिस्टर ओलम्पिया’मा भाग लिन प्रतिस्पर्धा गर्दै आएका छन्।