संकटा क्लब सहिद स्मारक ए डिभिजन लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ।
सशस्त्र प्रहरीको हल्चोकस्थित मैदानमा शनिबार भएको खेलमा न्यूरोड टिम एनआरटीलाई १–० ले निराश पार्दै संकटा लिगको दोस्रो स्थानमा उक्लिएको हो। एनआरटीको भने यो लगातार छैठौ हार हो।
अन्तिम समयमा सम्हालिन नसक्दा एनआरटी बराबरी गर्ने मौकाबाट चुकेको थियो। खेलको ९३ औं मिनेटमा संकटाका लागि विदेशी खेलाडी म्याक्सवेलले निर्णायक गोल गरेका थिए।
जितसँगै संकटा ७ खेलबाट १८ अंक जोड्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ। लगातार छैठौं हार व्यहोरेको एनआरटी भने १ अंकका साथ लिगको पुछारमा छ।