एभरेष्ट प्रिमियर लिग (इपीएल)मा चितवन टाइगर्सलाई पराजित गर्दै ललितपुर पेट्रियट्सले विजयी सुरुवात गरेको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएकाे खेलमा ललितपुरले चितवनलाई ११ रनले पराजित गर्दै इपीएलमा विजयी सुरुवात गरेको हो।
ललितपुरले दिएको १४४ रनको लक्ष्य पछ्याएको चितवन पुरै ओभर खेल्दै ८ विकेटको क्षतिमा १३२ रनमात्रै बनाउन सक्यो। चितवनका लागि दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ४१ रन जोडेका थिए। यस्तै, कप्तान पृथु बास्कोटाले २६, भीम सार्कीले २१ रन बनाउँदा जर्ज स्कट १८ रनमा अविजित रहे।
ललितपुरका सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए भने सनी पट्टेलले २ तथा गौरव तोमार र ललित राजवंशीले समान एक–एक विकेट लिए।
यसअघि टस जितेर पहिले व्याटिङ गरेको ललितपुरले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय ४३ रन बनाएको थियो। ललितपुरको इनिङ उकास्न सोनु तामाङ र सन्दीप जोराले उत्कृष्ट पारि खेलेका थिए।
सोनु तामाङले नट आउट ३५ रन बनाए। २४ बल खेलेका सोनुले ३ छक्का र १ चौका प्रहार गरेका थिए। सन्दीप जोराले ८ बलमा २५ रन बनाए। उनले ३ छक्का र १ चौका प्रहार गरे।
गौरव तोमारले ३० रन जोड्दा जयकिशन कोशवाला २० रनमा पेभेलियन फर्किए। चितवनका जर्ज स्कटले २ विकेट लिँदा ललित भण्डारी, कमलसिंह ऐरी र पौल स्टर्लिङले एक–एक विकेट लिएका थिए।