सहिद स्मारक ए डिभिजन लिग फुटबलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले सरस्वती क्लबलाई पराजित गरेको छ।
एन्फा कम्प्लेक्स सातदोबाटोस्थित मैदानमा भएको खेलमा एपीएफले सरस्वती क्लबलाई ३–० गोल अन्तरले पाखा लगाएको हो। खेलको १७ औं मिनेटमै रुपबहादुर लामाले गोल गर्दै एपीएफलाई सुरुवाती अग्रता दिलाएका थिए।
खेलको ४१ औं मिनेटमा युवराज खड्काले गोल गर्दै एपीएफको अग्रता दोब्बर पारे। पहिलो हाफमा २–० को अग्रता लिएको एपीएफले दोस्रो हाफमा थप एक गोल गर्न सफल भयो।
खेलको ८८ औं मिनेटमा रुपबहादुरले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे। जितपछि एपीएफ क्लब लिग तालिकाको सातौं स्थानमा उक्लिएको छ।
एपीएफको ७ खेलबाट १० अंक भएको छ। सरस्वती भने समान खेलबाट ६ अंकका साथ तालिकाको नवौं स्थानमा छ।