सहिद स्मारक ए डिभिजन लिग फुटबलमा च्यासल युथ क्लबले फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ।
हल्चोकस्थित सशस्त्र प्रहरीको मैदानमा भएको खेलमा च्यासलले फ्रेन्ड्स क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको हो। च्यासलले खेलको ११ औं मिनेटमा सन्तबहादुर तामाङको गोलबाट सुरुवाती अग्रता लिएको थियो।
तर, त्यसको ८ मिनेटपछि नै फ्रेन्ड्सका लागि विकास लामाले गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याएका थिए। पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा च्यासलले दुई गोल गर्यो।
खेलको ५४ औं मिनेटमा पाएको पेनाल्टीमा देवेन्द्र तामाङले गोल गर्दै च्यासललाई फेरि अग्रता दिलाए। खेलको ६८ औं मिनेटमा सन्तबहादुर तामाङले टोलीका लागि तेस्रो गोल गरेपछि च्यासल ३–१ ले विजयी भयो।
जितसँगै च्यासल लिगको सातौ स्थानमा उक्लिन सफल भएको छ। च्यासलले ७ खेलबाट १० अंक जोडेको छ। १० अंक नै रहेको एपीएफ गोल अन्तरका आधारमा ८ औं स्थानमा छ। फ्रेन्ड्सको भने ७ खेलबाट ५ अंकका साथ तालिकाको दशौं स्थानमा छ।