सहिद स्मारक ए डिभिजन लिगमा विभागीय टिम आर्मीले ब्रिगेड व्वाइजमाथि १–० को कठिन जित निकालेको छ।
सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा आर्मीले खेलको सुरुवातदेखि नै आक्रामक खेल खेलेको थियो। त्यसो त खेलको १५ औं मिनेटमा ब्रिगेड व्वाइजले गरेको सशक्त प्रहारलाई आर्मीका गोलकिपर विकेश कुथुले बचाए।
टिमका मुख्य खेलाडी नवयुग श्रेष्ठ र जर्जप्रिन्स कार्कीविना नै लिग खेलिरहेको आर्मीले ३६ औं मिनेटमा गरेको उत्कृष्ट प्रहारलाई ब्रिगेड व्वाइजको डिफेन्सले क्लियर गर्यो। ३९ औं मिनेटमा टेकबहादुर बुढाथोकीको हेडर पोष्ट नजिकैबाट बाहिरियो।
४० औं मिनेटमा ब्रिगेड व्वाइजले गरेको पोष्ट चार्जलाई विकेशले नै बचाए। त्यसपछि दुबै टिमबाट गोल भएन र आर्मी पहिलो हाफमा बराबरीमा रोकियो। तर, दोस्रो हाफमा आर्मी निकै आक्रामक रुपमा प्रस्तुत भयो।
५० औं मिनेटमा टेकबहादुर बुढाथोकीको प्रहार ब्रिगेड व्वाइजका गोलकिपरले बचाए। ५८ औं मिनेटमा भरत खवासले पाएको सुन्दर मौका ब्रिगेड व्वाइजको डिफेन्सले क्लियर गर्यो।
तर, ६६ औं मिनेटमा आर्मीले खेलमा अग्रता बनायो। उसका लागि टंकबहादुर बस्नेतले सन्तोष तामाङको क्रसमा गोल गरे। त्यसपछि अरु गोल नहुँदा आर्मीले १–० को कठिन जित निकाल्यो जितसँगै आर्मीले सात खेलबाट १७ अंक बनाएको छ।