तेस्रो संस्करणको टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज पनि दुई खेल हुँदैछ। ईपीएल अन्तर्गत भैरहवा ग्लाडीयटर्स र विराटनगर वारियर्स तथा काठमाडौं किङस इलाभेन र ललितपुर प्याट्रीयट्सबीच खेल हुनेछ।
टियु क्रिकेट मैदानमा शरद भेषावकरको भैरहवा र पारस खड्काको विराटनगरबीचको खेल बिहान ९ बजे सुरु हुनेछ। जारी लिगमा दुई टोली अपराजित रहेको छ। दुई खेलमा ४ अंक जोडेको भैरहवा दोस्रो र समान अंकसहित विराटनगर तेस्रो स्थानमा छ।
पहिलो खेलमा भैरहवाले पोखरा राइनोज र दोस्रो खेलमा चितवन टाइगर्सलाई हराएको थियो। विराटनगरले पहिलो खेलमा ललितपुर र दोस्रो खेलमा पोखरालाई सुपर ओभरमा हराएको थियो।
तेस्रो खेलका लागि मैदान उत्रदा दुवै टोलीले जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ। यस्तोमा दुई टोलीबीचको खेल रोमान्चक हुने देखिएको छ। दुई टोली गत बर्षको फाइनलिस्ट समेत हो। विराटनगरले भैरहवालाई हराएर उपाधि जितेको थियो।
यस्तै बुधबार हुने दोस्रो खेलमा सोमपाल कामीको काठमाडौंविरुद्ध शीर्ष स्थानको ललितपुरले प्रतिस्पर्धा गर्दैछ। दुई टोलीबीचको खेल अपरान्ह १ बजे सुरु हुनेछ। यस खेल दुवै टोलीको लागि महत्वपूर्ण रहेको छ।
ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुरको यो चौथो खेल हो। ललितपुरले ३ खेलबाट ४ अंक जोडेको छ। यस खेलमा जित निकाले ललितपुर अर्को चरणमा पुग्ने सम्भावना बलियो बन्नेछ।
पहिलो खेलमा विराटनगरसंग पराजित ललितपुरले दोस्रो खेलमा चितवन र तेस्रो खेलमा पोखरा राइनोजलाई हराएको थियो।
यता, काठमाडौंको भने यो दोस्रो खेल हो। काठमाडौंले पहिलो खेलमा चितवनलाई हराएको थियो।