इंग्लिस प्रिमियर लिगको डिफेन्डिङ च्याम्पियन म्यान्चेष्टर सिटी गएराती भएको खेलमा क्रिष्टल प्यालेससँग पराजित भएको छ।
आफ्नै मैदानमा प्यालेससँग पराजित भएपछि सिटी शीर्ष स्थानको लिभरपुलभन्दा चार अंकले पछि परेको छ।
एन्द्रोस टाउनसेन्डले ३० यार्ड टाढाबाट गरेको प्रहार गोलमा परिणत भएपछि सिटी पहिलो हाफमै २–१ ले पछि परेको थियो। २७औं मिनेटमा इल्के गुन्डोआनले डेल्फको पासमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए।
त्यसको ६ मिनेटपछि जेफ्री स्कलुपले गोल गर्दै प्यालेसलाई खेलमा फर्काए। दुई मिनेटपछि टाउनसेन्डको गोलले सिटीलाई अर्को झड्का दियो। बर्नाडो सिल्भाले क्लीयर गरेको बललाई टाउन्सेन्डले उत्कृष्ट भलि प्रहार गर्दै प्यालेसलाई अग्रता दिलाए।
पहिलो हाफमा २–१ को अग्रता कायम राखेको प्यालेसले ५१औं मिनेटमा पेनाल्टी पायो। टाउन्सेन्डको अर्को प्रहार पोलमा लागेर फर्कियो। त्यो बल क्लीयर गर्ने क्रममा केइल वाल्करले प्यालेसका म्याक्स मेयरलाई डिबक्स भित्र लडाएपछि पाएको पेनाल्टीलाई लुका मिलिभोभिकले गोल गर्दै क्रिष्टल प्यालेसलाई ३–१ को अग्रता दिलाए।
खेलमा म्यान्चेष्टर सिटीले धेरै मौका पाएपनि प्यालेसका डिफेन्डर र गोलकिपरले विफल बनाएका थिए।
८५औं मिनेटमा केभिन डि ब्रुयनले गोल गर्दै प्यालेसको अग्रता ३–२ मा छोट्याए। हार पछि सिटी शीर्ष स्थानको लिभरपुलभन्दा चार अंक पछि परेको छ। लिभरपुल ४८ अंक सहित शीर्ष स्थानमा छ भने सिटी ४४ अंक बनाउँदै दोस्रो स्थानमा छ।