दुई खेल खेल्न बाँकी छँदै मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबल २०७५ को उपाधि जितेको छ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार भएको खेलमा लिगको दोस्रो स्थानमा रहेको संकटालाई ३–१ ले हराउँदै दुई खेल खेल्न बाँकी छँदै 'ए' डिभिजन लिग फुटबलको उपाधि जितेको हो।
योसँगै मनाङ मर्स्याङ्दी क्लब कीर्तिमानी आठाैं पटक ए डिभिजन लिगकाे उपाधि जित्ने टोली बनेकाे छ। यसअघि मनाङले २०४३, २०४४, २०४६, २०५७, २०६०, २०६२ र २०७० सालमा ए डिभिजन लिग फुटबलकाे उपाधि जितेको थियो।
मनाङले आत्मघाती गोलको उपहारबाट पहिलो हाफको इन्जुरी समयमा अग्रता लिएको थियो। संकटाका रोशन पहाडीले आत्मघाती गोल गरेपछि मनाङ अग्रता लिन सफल भयो।
पहिलो हाफमा एक सून्यको अग्रता बनाएको मनाङले दोस्रो हाफमा दुई गोल गर्दा एक गोल खान पुग्यो। खेलको ८१ औं मिनेटमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका पुजन उपरकोटीले गोल गर्दै मनाङको अग्रता दोब्बर पारेका थिए।
त्यसको पाँच मिनेटपछि खेलको ८६ औं मिनेटमा विदेशी खेलाडी अडिलेजा सोमिडेले गोल गर्दै मनाङको जित पक्का परेका थिए। संकटाका लागि खेलको ९१ औं मिनेटमा सेडरिक आवाले सान्तोना गोल गरेका थिए।
जितसँगै ११ खेलबाट ३३ अंक जोड्दै दुई खेल अघि नै च्याम्पियन बन्न मनाङ सफल भयो। मनाङले अब लिगमा दुई खेल खेल्न बाँकी छ।
लिगको दोस्रो स्थानमा रहेको संकटा ११ खेलबाट २५ अंकका साथ लिगको दोस्रो स्थानमा छ। लिग च्याम्पियन मनाङले अब बाँकी दुई खेल प्रतिष्ठाका लागि मात्रै खेल्नेछ।