सहिद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले सरस्वती युवा क्लबलाई पराजित गरेको छ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा आर्मी क्लबले सरस्वतीलाई ४–० ले पराजित गरेको हो। आर्मीको जारी लिगमा यो छैटौं जित हो।
खेलको सातौं मिनेटमै नवयुग श्रेष्ठले दीपक गुरुङको पासमा गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको ३० औं मिनेटमा कप्तान भरत खवासले पेनाल्टीमार्फत एक गोल गर्दै आर्मीलाई २–० को अग्रता दिलाए।
पहिलो हाफको २८ औं मिनेटमै १० खेलाडीमा सीमित भएको सरस्वती आर्मीसामू निरीह नै सावित भयो। सरस्वतीका सुमन लामाले आर्मीका कप्तान भरत खवासलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि दोस्रो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए।
पहिलो हाफमा २–० को अग्रता लिएको आर्मीका लागि खेलको ६१ औँ मिनेटमा भरतले व्यक्तिगत दोस्रो गोल गरे। चौथो गोल भने आर्मीले उपहार स्वरुप पाएको थियो। सरस्वतीका विदेशी खेलाडी ओलुसोला एब्राहिमले आत्मघाती गोल गरेपछि आर्मी ४–० को जित निकाल्न सफल भयो।
जितसँगै ११ खेलबाट आर्मीले २१ अंकका साथ लिग तालिकाको चौथो स्थानमा छ। समान खेल खेलेको सरस्वती १० अंकका साथ तालिकाको दशौँ स्थानमा छ।