थाइल्यान्डमा हालै सम्पन्न विश्व शारीरिक सुगठनमा स्वर्णपदक जित्न सफल नेपाली खेलाडी महेश्वर महर्जनलाई शनिबार काठमाडौंमा नगर परिक्रमा गराइएको छ ।
ज्यापु महागुठीको अगुवाइमा भएको नगर परिक्रमा वसन्तपुरबाट सुरु भइ सहरका विभिन्न भागको परिक्रमापछि पुनः वसन्तपुर पुगेर टुंगिएको थियो । दशौं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा महेश्वरले पुरुष ७५ केजी स्पर्धामा स्वर्णपदक जितेका हुन् ।
नेपाली खेलाडीले शारीरिक सुगठनको विश्वस्तरमा स्वर्णपदक जितेको यो पहिलोपटक हो । समग्र अन्तराष्ट्रिय प्रतियोगितामा भने महेश्वरको यो दोस्रो स्वर्णपदक हो । दुई वर्षअघि भुटानमा भएको एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्समा पनि उनले स्वर्णपदक जितेका थिए । महेश्वर नेपाली शारीरिक सुगठनको सर्वोच्च प्रतियोगिता धर्मश्रीको १३औं संस्करणका विजेता समेत हुन् ।