इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले ९ अंककाे अग्रता लिएकाे छ। शनिबार राति आर्सनलमाथि ५–१ को जीत निकाल्दै लिभरपुलले तालिकामा ९ अंकको अग्रता बनाएकाे हाे।
आर्सनलले शुरुवातमा लिएको एक गोलको अग्रतामा पाँच गोल फर्काउँदै लिभरपुलले प्रिमियर लिग जित्ने सम्भावना बलियो बनाएको छ। लिभरपुलको जीतमा रोबर्टो फिरमिनो ह्याट्रिक गरे भने साडियो माने र मोहम्मद सलाहले एक एक गोल गरे।
लिभरपुलको मैदान एन्फिल्डमा भएको खेलमा एन्स्ले मेइटल्याण्ड नाइल्सले खेलको एघारौं मिनेटमा नै गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए। एलेम्स आयोबीको पासमा मेइटल्याण्ड नाइल्सले आर्सनल करियरकै पहिलो गोल गरेका थिए। तर सो अग्रता तीन मिनेटभन्दा बढी टिकेन।
१४औं मिनेटमा रोबर्टो फिरमिनोले गोल गर्दै खेल बराबरीमा पु¥याए। आर्सनलका डिफेन्डरले क्लीयर गर्न नसकेको बललाई फिरमिनोले गोलमा परिणत गरे। त्यसको ९० सेकेण्ड वित्न नपाउँदै फिरमिन्होले अर्को गोल गर्दै लिभरपुललाई अग्रता दिलाए। यस पटक उनले एक्लो प्रयासमा उत्कृष्ट गोल गरेका थिए।
३२औं मिनेटमा मोहम्मद सलाहको पासमा साडियो मानेले गोल गरेपछि लिभरपुलले ३–१ को अग्रता लियो।
पहिलो हाफको इन्ज्युरी समयमा लिभरपुलले पेनाल्टी पायो। ग्रानिट जाकाले मोहम्द सलाहलाई डिबक्सभित्र लडाएपछि पाएको पेनाल्टीलाई सलाहले नै गोलमा परिणत गरे। र, लिभरपुलले पहिलो हाफमा ४–१ को अग्रता लियो।
दोस्रो हाफको शुरुमै लिभरपुलको दुईवटा राम्रो मौकामा आर्सनलका गोलकिपर बर्नड लेनो बाधक बने। लेनोले ४७औं मिनेटमा मानेको र ४८औं मिनेटमा सलाहको प्रयास विफल बनाए।
६५औं मिनेटमा लिभरपुलले अर्को पेनाल्टी पायो। यो पेनाल्टीलाई भने रोबर्टो फिरमिनोले गोल गर्दै ब्यक्तिगत ह्याट्रिक पूरा गरे। बाँकी समयमा थप गोल हुन सकेन र लिभरपुलले आर्सनलमाथि शानदार जीत निकाल्दै लिग तालिकामा बलियो स्थितीमा कायम बन्यो। जीतसँगै लिभरपुलले ५४ अंक बनाएको छ। दोस्रो स्थानको टोटनह्याम उल्भरह्याम्टनसँग ३–१ ले पराजित भएपछि लिभरपुलको अग्रता ९ अंकमा लम्बिएको हो।