राजधानीमा जारी शहिद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस क्लव सशस्त्र प्रहरीको एपीएफ क्लवसँग चार एक गोलले पराजित भएको छ । यता अर्को खेलमा च्यासलले सरस्वतीसँग दुइ एक गोलले स्तब्ध भयो ।
हलचोक स्थित सशस्त्रको मैदानमा भएको खेलमा एपीएफले २० औं मिनेटमा पहिलो गोल गर्यो । उसका लागि राजेन्द्र रावलले गोल गरे । त्यसपछि २८ औं मिनेटमा हरी कार्कीले एपीएफको अग्रता दोब्बर पारे । ४३ औं मिनेटमा युवराज खड्काले गोल गर्दै एपीएफको अन्तर तीन शुन्यमा पुर्याए ।
पहिलो हाफको इन्जुरी समयमा पुलिसका अजित भण्डारीले रिबाउन्डमा गोल गर्दै अन्तर तीन एकमा झारे । तर दोस्रो हाफमा पुलिस खेलमा फर्कन सकेन भने एपीएफले अर्को गोल थप्यो । ८५ औं मिनेटमा युवराज खड्काले ब्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गरे ।
यता सातदोबाटो स्थित एन्फा मैदानमा भएको खेलमा च्यासल सरस्वती क्लवसँग दुई एकले हरायो ।
च्यासलले एक गोलको अग्रता जोगाउन सकेन । खेलको १४ औं मिनेटमा सजिन थापामगरले सरस्वतीको डिफेन्सको फाइदा उठाउदै गोल गरे । पहिलो हाफमा एकगोलले पछि परेका सरस्वतीले अन्तिम १० मिनेटमा दुई गोल फर्कायो ।
८६ औं मिनेटमा मनिश थापाले फ्रिकिक मार्फत उत्कृष्ट गोल गरे । त्यसपछि इन्जुरी समयको पाँचौ मिनेटमा विदेशी खेलाडी फ्रान्सिसले गोल गर्दै सरस्वतीलाई महत्पवुर्ण जित दिलाए । जितसँगै एपीएफले १२ खेलबाट २० अंक बनाएको छ भने पुलिसको १८ अंक छ । यस्तै सरस्वतीको १२ खेलबाट १३ अंक भएको छ भने च्यासलको १५ अंक छ ।