शहीद स्मारक ए डिभिजन लिगको उपाधि मनाङ् मस्र्याङ्दी क्लबले जितिसकेपनि आज हुन थ्रीस्टार र संकटावीचको खेलले दोस्रो स्थानको निर्धारण गर्नेछ।
थ्रीस्टार र संकटावीचको खेल आज साढे दुई बजे एन्फा कम्प्लेक्स मैदानमा हुनेछ। तालिकामा संकटा २५ अंकसहित दोस्रो स्थानमा छ भने दुई अंकले पछि रहेको थ्रीस्टार तेस्रो स्थानमा छ। लिगको उपविजेता बन्ने सम्भावना कायम राख्नका लागि आज थ्रीस्टारलाई जीत अनिवार्य छ। संकटालाई हराउन सकेको खण्डमा थ्रीस्टारले एक अंकको अग्रता लिनेछ र दोस्रो स्थान हात पार्ने टिमको टुंगो अन्तिम खेलले लगाउनेछ।
संकटाले जीत हात पारेमा भने दोस्रो स्थान सुरक्षित गर्नेछ। बराबरी भएको खण्डमा पनि अन्तिम खेलको नतिजासम्म कुर्नु पर्नेछ।
साढे दुई बजे हल्चोक मैदानमा मनाङ् मस्र्याङ्दी क्लब र हिमालयन शेर्पा क्लब खेल्दैछन्। हिमालयन शेर्पा क्लब १७ अंक सहित सातौं स्थानमा छ।
उपाधि जितिसकेको मनाङको ३३ अंक छ। लिगमा शतप्रतिसत खेल जितेर इतिहास कायम गर्नका लागि मनाङ्लाई यो खेल जित्ने पर्नेछ। हिमालयन शेर्पाभने मनाङको अपराजित यात्रा तोड्दै छैटौं स्थानमा लिग अन्त्य गर्ने लक्ष्यमा रहनेछ।