देशकै एकमात्र अन्तर्राष्ट्रिय दशरथ रंगशालामा खेलकुद गतिविधि नभएको चार वर्ष हुन लाग्यो। विसं २०७२ को विनाशकारी ‘गोरखा भूकम्प’का कारण क्षतिग्रस्त बनेपछि त्रिपुरेश्वरस्थित उक्त रंगशालामा कुनै पनि खेलकुदका गतिविधि हुन सकेका छैनन्।
भूकम्प गएको आउँदो वैशाखमा चार वर्ष पूरा हुँदैछ। तर, रंगशाला पुनःनिर्माणको काम ७० प्रतिशत हाराहारीमा मात्र भएको छ। भूकम्प गएको करिब दुई वर्षसम्म रंगशाला पुनःनिर्माणको काम शुरु नै हुन सकेन। गत जेठदेखि मात्र पुनःनिर्माणले गति लिए पनि तोकिएको समयसीमा आगामी फागुन पहिलो सातासम्म पुनःनिर्माण नसकिने भएको छ।
आगामी फागुन पहिलो सातासम्म रंगशाला निर्माण सम्पन्न गर्ने र फागुन अन्तिम साता हुने तय भएको १३ औँ दक्षिण एसियाली खेलकूद (साग) सोही रंगशालामा उद्घाटन गर्ने तयारी भए पनि लक्ष्यअनुसार काम नभएपछि अहिले समस्या उत्पन्न भएको छ।
रंगशालालगायत अन्य भौतिक पूर्वाधार नबन्दा गत मंसिरमा हुने तय भएको आठौँ राष्ट्रिय खेलकूद पनि तेस्रो पटक सरिसकेको छ भने १३ औँ दक्षिण एशियाली खेलकूद पनि समयमा नहुने निश्चित भएको छ।
सन् २०१९ मा नेपालले १३ औँ दक्षिण एसियाली खेलकूद आयोजना गर्ने जिम्मा लिएको छ । तर, दशरथ रंगशालाको पुनःनिर्माण हालत सन्तोषजनक छैन। रंगशाला निर्माणको काम नसकिदा १३ औँ दक्षिण एशियाली खेलकूदसमेत अन्योलमा परेको छ।
राष्ट्रिय खेलकूद परिषद् (राखेप) सदस्य सचिव केशवकुमार विष्टले तोकिएको समयमा भौतिक पूर्वाधार निर्माणको काम सम्पन्न नभएपछि नेपालले आयोजना गर्ने १३ औँ दक्षिण एशियाली खेलकूद छ महिनाका लागि सार्ने प्रस्ताव गरिएको बताए। उनले भने, 'असार मसान्तसम्म पुनःनिर्माण सम्पन्न हुन्छ, रंगशालामा भव्य कार्यक्रम गरेर खेलकुदको स्वर्ण युग घोषणा गरेरमात्र म राखेपबाट बिदा हुन्छु।'
अठार हजार दर्शक क्षमताको दशरथ रंगशालाकोे पुनःनिर्माणको काम नेपालको भौतिक पूर्वाधार तथा अन्य प्राविधिक पक्ष चीन सरकारको सहयोगमा निर्माण हुनेछ। नेपालले निर्माण गर्नुपर्ने काममध्ये ७० प्रतिशत काम पूरा भएको छ। त्यसपछि चीन सरकारले बनाइदिने सम्झौता भएको एथलेटिक्स ट्र्याक, ‘साउन्ड सिस्टम’, ‘फ्लड लाइट’ र ‘स्कोर बोर्ड’को काम शुरु हुनै बाँकी छ। यद्यपि चिनियाँ कम्पनीले स्कोर बोर्ड निर्माणको काम केही साताअघिदेखि शुरु गरेको छ।
रंगशाला पुनःनिर्माणको मुख्य कामको स्वरूपमा रहेको ‘भिआइपी प्यारापिट’ (अति विशिष्ट व्यक्ति बस्ने स्थान) र साधारण प्यारापिट (दर्शक बस्ने स्थान) को तल्लो चार तहको काम पिएल प्रतिष्ठान किराँतेश्वर जेभीले गरिरहेको छ। २०७३ सालमा यो कम्पनीले ठेक्का पारेको थियो। राखेपका पूर्वाधार तथा निर्माण विभागका प्रमुख इञ्जिनीयर अरुण उपाध्यायले भने, ‘अहिले पनि एक सयदेखि १५० मजदुरले दैनिक काम गरिरहेका छन्। सबै काम सम्पन्न हुन असार मसान्तसम्म त लाग्छ।'
एक महिनाभित्र बाहिरी निर्माणको काम सम्पन्न हुने उल्लेख गर्दै उहाँले साधारण प्यारापिटको उत्तरतर्फ करिब ३० मिटर प्यारापिटको ढलान र भिआइपी प्यारापिटको ३३ पिलरमध्ये ११ पिलरको रेट्रोफिटको काम बाँकी नै छ। भिआइपी प्यारापिटको छानो हाल्ने र प्यारापिटका सबैतिर कुर्सी राख्न टेन्डर प्रक्रिया शुरु भएकै छैन।
रंगशालाको अहिलेको स्वरूप भने २०५५ सालमा तयार भएको थियो। नेपालले आठौं साफ आयोजना गर्ने निर्णयलगत्तै चीनले आधुनिक रंगशाला निर्माण गर्न सहयोग गरेको थियो। रासस