थ्रीस्टार क्लबलाई हराउँदै संकटा क्लब सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलको उपविजेता बन्न सफल भएको छ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार भएको खेलमा थ्रीस्टार क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै संकटा लिगको उपविजेता बनेको हो। खेलको ३० औं मिनेटमा रन्जन विष्टको गोलबाट थ्रीस्टार क्लबले सुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाउन सकेन।
खेलको ४२ औं मिनेटमा संकटाका लागि अमित तामाङले पेनाल्टीमार्फत गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याए। थ्रीस्टारका सुनिल बलले डिबक्सभित्र फल गरेपछि पाएको पेनाल्टीमा अमित गोल गर्न सफल भए। दोस्रो हाफमा संकटाले अर्को पेनाल्टी पायो। खेलको ६४ औं मिनेटमा पाएको पेनाल्टीमा पनि अमित चुकेनन् र खेल संकटाले २–१ ले जित्यो।
खेलमा अमित म्यान अफ दि म्याच चुनिए। जितसँगै ए डिभिजन लिग फुटबलको उपविजेता बन्न सफल संकटाले १२ खेलबाट २८ अंक जोड्न सफल भयो। पराजित भएको थ्रीस्टार भने समान खेलबाट २३ अंक जोड्दै लिगको तेस्रो स्थानमा यथावत छ।