राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लबले तेस्रो स्थानमा रहेर लिग यात्रा टुंग्याएको छ ।
एन्फा मैदानमा आइतबार भएको आफ्नो अन्तिम खेलमा हिमालयन शेर्पामाथि २–० को जित निकाल्दै थ्रीस्टार २६ अंक सहित तालिकाको तेस्रो स्थानमा रहेको हो । शेर्पामाथि सुरुदेखिनै दबाबमा राखेको थ्रीस्टारले पहिलो र दोस्रो हाफमा एक एक गोल गरेको थियो ।
थ्रीस्टारका लागि २८औं मिनेटमा बुद्धराज लिम्बुले गोल गर्दै सुरुआती अग्रता दिलाए । पहिलो हाफमा १ गोल गरेको थ्रीस्टारले दोस्रो हाफमा १ गोल गरेको थियो । ८९औं मिनेटमा रन्जन विष्टले गोल गर्दै थ्रीस्टारलाई २–०को जित दिलाउन सफल भए ।
यस्तै एपीएफ मैदानमा आइतबार भएको अर्को खेलमा त्रिभुवन आर्मीले मच्छिन्द्र क्लबविरुद्ध ३–० को जित निकाल्दै तालिकाको चौथो स्थानमा रहन सफल भयो । आर्मीको जितमा भरत खवासले २ गोल गर्दा टंकबहादुर बस्नेतले १ गोल गरेका थिए ।
आर्मीले पहिलो हाफमा १ गोल गरेको थियो भने दोस्रो हाफमा २ गोल थपेको थियो । आर्मीका लागि २८औं मिनेटमा टंकबहादुर बस्नेत गोल गर्दै अग्रता दिलाएका थिए । ६२औं मिनेटमा आर्मीका कप्तान भरत खवासले टिमका लागि दोस्रो गोल गरे । २–०ले अगाडि रहेको आर्मीले तेस्रो गोल ७४औं मिनेटमा गरेको थियो । तेस्रो गोल कप्तान खवासकै नाममा रह्यो ।