धनगढीमा जारी ‘तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्ड कपअन्तर्गत शुक्रबार भएको प्रतिस्पर्धामा सिएमजी क्लब सङ्कटाले गोर्खा ब्वाइज रुपन्देहीलाई २–० गोलले पराजित गरेको छ ।
जितसँगै सङ्कटा प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । धनगढी रङ्गशालामा भएको शुक्रबारको खेलको इन्जुरी समयको पहिलो मिनेटमा जय गुरुङले दिएको पासमा रवि सिलवालले बललाई नियन्त्रणमा लिँदै गोल गरेर सङ्कटालाई अग्रता दिलाएका थिए ।
दोस्रो हाफको ८३ औँ मिनेटमा फोफाना इब्राहिमको लो क्रसमा एलोन म्याक्सवेलले गोल गर्दै सङ्कटाको जित पक्का गरे । विजयी टोलीका प्रशिक्षक सल्यान खड्गीले जित दर्ता गरे पनि मैदानको अवस्थाका कारण प्रदर्शन सोचेअनुरुप हुन नसकेको बताए। गोर्खा ब्वाइजका प्रशिक्षक दयाराम श्रेष्ठले पाएको अवसर सदुपयोग गर्न नसक्दा पराजित हुनुपरेको प्रतिक्रिया दिए । माघ १ गते सङ्कटाले क्यामरुनको धाउफिन्स एफसिको सामना गर्ने छ ।
शनिबारदेखि प्रतियोगिताको क्वाटरफाइनल चरणका खेल शुरु हुने जनाइएको छ । नेपाल एपिएफ क्लब र मेची नेत्रालय काँकडभिट्टा ट्रेनिङ सेन्टरबीच पहिलो क्वाटरफाइनल प्रतिस्पर्धा हुनेछ ।