थाइल्याण्डमा शुरु महिला टी–२० स्म्यासमा नेपालले विजयी सुरुवात गरेको छ।
आज भएको खेलमा नेपालले चीनमाथि १० विकेटको फराकिलो जित निकालेको हो। ४९ रनको सामान्य लक्ष्य पछ्याएको नेपालको जितमा सिता रानामगर २४ तथा काजल श्रेष्ठ १४ रनमा नटआउट रहँदा जम्मा ८ दशमलब ४ ओभर खेलेका थिए।
पहिला व्याटिङ गरेको चीनले निर्धारित ओभरमा ६ विकेट गुमाएर ४८ रन बनाएको थियो। चीनकी झ्याङ चानले सर्वाधिक १३ रन बनाउँदा अरु कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाएनन्। नेपालकी करुणा भण्डारीले ३ विकेट लिँदा, नेरी थापाले २ तथा सिता रानामगरले १ विकेट लिइन्।
यस प्रतियोगितामा विभिन्न १० टोलीको सहभगिता रहेको छ। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा नेपालसहित चीन, संयुक्त अरब इमिरेट्स (युएई), मलेसिया र थाइल्याण्ड छन् भने समूह ‘बी’ मा हङ्कङ, थाइल्याण्ड, इण्डोनेसिया, भूटान र म्यान्मा छन्।
नेपालले आफ्नो दोस्रो खेलमा भाेली मलेसियासँग, तेस्रो खेल ३० गते संयुक्त अरब इमिरेट्स (युएई)सँग खेल्ने छ भने अन्तिम खेल माघ २ गते थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।