थाइल्याण्डमा जारी महिला टी–२० स्म्यासमा नेपालले लगातार दोस्रो जित निकालेको छ।
जितसँगै नेपाल सेमिफाइनल नजिक पुगेको छ।दोस्रो जित निकाल्ने क्रममा मलेसियाले दिएको ६२ रनको झिनो लक्ष्य १६ दशमलब २ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको हो।
टस जितेर पहिला ब्याटिङ गरेको मलेसिया १९ दशमलब ३ ओभरमा ६१ रनमा समेटिएको थियो। मलेसियालाई सस्तैमा समेट्न नेपालकी सरिता मगरले ४ विकेट लिइन्। ३दशमल ३ ओभर बलिङ गरेकी सरिताले ४ विकेट लिँदा जम्मा ११ रन खर्चिन पुगिन्।
कविता कुवर, नेरी थापा र इन्दु बर्माले एक एक विकेट हात पारेका थिए। ३ जना खेलाडी रन आउट भए। सोइ टिजिन इले सर्वाधिक १२ तथा युसिरिना याकोपले ११ रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन्। ६२ रनको झिनो लक्ष्य पछ्याउँदा नेपालको शुरुआत भने सुखद् रहेन्।
नेपालको खातामा १४ रन हुँदा पहिलो विकेट गुमाएको थियो। नेपालकी काजल श्रेष्ठ ६ रन बनाएर आउट भइन्। दोस्रो विकेट २६रनमा खेर फालेको थियो। इन्दु बर्मा ३ रनमा पेभेलियन फर्किइन्।
यस्तै ३२ रनमा तेस्रो विकेट गुमाउँदा सिता रानामगर १६ रनमा रन आउट भइन्। चौथो विकेट भने ३८ रनमा गुमाएको थियो। यतिबेला सरिता मगर पनि रन आउटको सिकार भइन्। त्यसपछि क्रिजमा रहेका रोमा थापा २० तथा ममता चौधरी ९ रनमा नट आउट रहँदै खेल जिताएका थिए। मलेसियाकी इनटान जमादियू जफर र अइना हमिजा हसिमले एक एक विकेट लिए।