बार्सिलाेनाका स्टार खेलाडी लियोनल मेस्सीले स्पेनिस ला लिगामा चार सय गोलको कीर्तिमान बनाएका छन्। गएराति भएको खेलमा आइबारविरुद्ध गोल गर्दै मेस्सीले ४ सय गाेलकाे कीर्तिमान बनाएका हुन्। ४ सय गोलको कीर्तिमान बनाउन ४ सय ३५ खेल खेलेका छन्।
उनी ला लिगामा सर्वाधिक गाेल गर्ने खेलाडी पनि हुन् । गएरातिकाे खेलमा बार्सिलाेनाले आईबारलाई ३–० ले पराजित गरेकाे थियाे।
युरोपको शीर्ष पाँच लिगमा ४ सय गोल पूरा गर्ने जम्मा दुई खेलाडी छन् । पोर्चुगलका क्रिश्चियानो रोनाल्डोले ४ सय ९ गोल गरिसकेका छन्। रोनाल्डोले इङ्ल्याण्ड, स्पेन र इटलीका लिगमा गरी ५ सय ७ खेल खेलेका छन् । मेस्सीले भने एउटै लिगमा यो सफलता हात पारेका हुन्।
ला लिगामा गएरातिको जितसँगै बार्सिलोनाले पाँच अंकको अग्रता पनि बनाएकाे छ । १९ खेलमा ४३ अंक छ भने दोस्रो स्थानको एट्लेटिको मड्रिडको ३८ अंक छ। एट्लेटिकोले गएराति लेभान्तेलाई १–० ले हराउँदा तेस्रो स्थानको सेभिया भने एथ्लेटिक बिल्बाओसँग २–० ले पराजित भएकाे थियाे।