संयुक्त अरब इमिरेट्स (युएई) लाई पराजित गर्दै नेपाल नेपाल थाइल्याण्डमा जारी थाइल्याण्ड महिला टी–ट्वान्टी स्म्यास क्रिकेटको सेमिफाइनल प्रवेश गरेको छ।
सोमबार बैंककमा भएको खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो।
पहिले व्याटिङ गरेको युएईले दिएको १०६ रनको लक्ष्य नेपालले १९ ओभरमा मात्र ४ विकेट गुमाएर भेट्टाएको थियो। नेपालको जितमा ओपनर सीता राना मगरले सर्वाधिक ३७ रन जोडिन्। यस्तै, काजल श्रेष्ठले २५ तथा इन्दु बर्माले १३ रन जोडेका थिए।
कप्तान रुबिना क्षेत्री १० र नेरी थापा ६ रनमा अविजित रहे। युएईका इशा ओजा, हुमाईरा तास्निम र चमानी सिनेभिरात्नेले एक–एक विकेट लिए।
टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०५ रन बनाएको थियो। युएईका छाया मुगालले ३१, इशा ओजाले २८ रन बनाउँदा चमानी सिनेभिरात्ने अविजित २३ रन जोडेकी थिइन्।
नेपालका लागि सोनु खड्का, सीता राना मगर र करुणा भण्डारीले एक–एक विकेट लिएका थिए।
लगातार तेस्रो जितसंगै नेपालले ३ खेलबाट ६ अंक जोडेको छ। नेपालले अब समूह चरणको अन्तिम खेलमा बुधबार घरेलु टोली थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ।