दोस्रो सभामुख कप महिला राष्ट्रिय भलिबल प्रतियोगिताको सेमिफाइनलको समीकरण बिहीबार पूरा भएको छ।
पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा बिहिबार भएको क्वाटर फाइनलमा सफलता हात पार्दै एपिएफ, गण्डकी प्रदेश, प्रदेश ३ र पुलिसले सेमिफाइनलमा स्थान पक्का गरेका हुन्।
पहिलो क्वाटरफाइनल खेलमा एपिएफले आर्मीलाई २५–१५,२५–१९ र २५–१६ को सोझो सेटमा हरायो। अर्को खेलमा गण्डकी प्रदेशले प्रदेश ५ लाई २५–१३,२५–६ र २५–१७ को सोझो सेटमा हराउँदै सेमिफाइनलमा एपिएफसँग भेट पक्का गरेको छ। त्यसैगरी प्रदेश ३ ले प्रदेश १ लाई २५–३,२५–१४ र २५–१० को सोझो सेटमा हरायो। नेपाल पुलिसले प्रदेश २ लाई २५–१४,२५–१४ र २५–१२ को सोझो सेटमा हराउँदै सेमिफाइनलमा प्रदेश ३ सग भेट पक्का गरेको छ।
राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको संयोजनमा सञ्चालन भइरहेको प्रतियोगितामा विजेता टिमले अहिलेसम्मकै सर्वाधिक पुरुस्कार राशि प्रथमले नगद ३ लाख ५० हजार, दोस्रोले १ लाख ७० हजार, तेस्रोले १ लाख र चौथोले सान्त्वना स्वरुप ५० हजारका साथमा ट्रफी मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ।
प्रतियोगिताका साथै अन्य उत्कृष्ट विधामा बेस्ट स्पाइकर, बेष्ट ब्लकर, बेष्ट सर्भर, बेस्ट सेटर, बेस्ट लिब्रो, बेष्ट प्रशिक्षकलाई जनही ५ हजार र उत्कृष्ट खेलाडीलाई नगद १० हजार सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ।