अखिल नेपाल फुटबल सङ्घघ (एन्फा)ले चार जिल्ला फुटबल सङ्घले लगाएको भ्रष्टाचारको आरोप निराधार रहेको दाबी गरेको छ ।
एन्फाले शुक्रबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै चार जिल्ला काठमाडौँ, ललितपुर, भक्तपुर र धादिङ जिल्ला सङ्घले लगाएको अनियमितता र भ्रष्टाचार आरोप निराधार रहेको बताएको हो ।
पत्रकार सम्मेलनमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले चार जिल्लाका साथीहरुले वर्तमान नेतृत्वमाथि १४ आरोप लागेको भन्दै उक्त आरोप निराधार भएको बताउनुभयो । अध्यक्ष शेर्पाले भ्रष्टाचारको आरोपमा सरकार र एएफसीले छानबिन गरे पूर्ण समर्थन सहयोग गर्ने बताए ।
वर्तमान नेतृत्व चयन भएपछि चार वर्षदेखि रोकिएको ‘ए’ डिभिजन लिग, ललित स्मृति यू–१८, ग्रासरुट फुटबल कार्यक्रम सम्पन्न गरेको बताउँदै एन्फाले यसै वर्ष साफ महिला च्याम्पियनशीप नेपालमै आयोजना गर्न लागेको जानकारी दिएको छ ।
यसअघि एन्फा अन्तर्गतको काठमाडाँै, ललितपुर, भक्तपुर र धादिङ जिल्ला फुटबल सङ्घले निर्वाचनको क्रममा भ्रष्टाचार भएको आरोप लगाउँदै पत्रकार सम्मेलन गर्दै अडियो टेपसमेत सार्वजनिक गरेको थियो ।