पोखरा रंगशालामा जारी दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा विभागीय टोली डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरी बल एपिएफ र नेपाल पुलिस क्लब भिड्ने भएका छन् ।
राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा भएको प्रतियोगिता अन्तर्गत शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेशलाई प्रतियोगिताको एपिएफले ३–० को सोझो सेटमा हराउँदै एपिएफ फाइनल प्रवेश गरेको छ । एपिएफले २५–८, २५–१७ र २५–११ को फरकिलो सेटमा हराएको हो । एपिएफले गण्डकीलाई सहजै रुपमा पराजित गर्दै दोस्रो पटक उपाधि रक्षाको लागि पुलिससँग भिड्ने भएको हो ।
नेपाल पुलिस क्लबले प्रदेश ३ लाई ३–२ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो सेट १८–२५ ले पछि परेको पुलिसले दोस्रो सेटमा २५–२० ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेटमा २३–२५ ले पछि परेको पुलिस चौथो सेटमा सम्हालिँदै २७–२५ ले अंक ल्याएको थियो । अन्तिम तथा निर्णयक सेटमा पुलिसले १५–७ को फराकिलो अन्तरले हराउँदै फाइनलमा एपिएफसँग भेट पक्का गरेको हो । शनिबारै तेस्रो स्थानको लागि गण्डकी प्रदेश र प्रदेश ३ बीच खेल हुने छ ।
प्रतियोगिताको विजेता टिमले नगद ३ लाख ५० हजार, उपविजेताले १ लाख ७० हजार तेस्रो हुनेले १ लाख र सान्त्वनाले ५० हजार रुपैयाँका साथै सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिताका साथै अन्य उत्कृष्ट विधामा बेस्ट स्पाइकर, बेष्ट ब्लकर, बेस्ट सर्भर, बेस्ट सेटर, बेस्ट लिब्रो, बेस्ट प्रशिक्षकलाई जनही ५ हजार र उत्कृष्ट खेलाडीलाई नगद १० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा १० टिमको सहभागिता थियो ।