नेपाल आर्मीका हबलदार ३५ वर्षे राजन खत्रीले प्रथम क्रसकन्ट्री राष्ट्रिय दौड प्रतियोगिताको उपाधि हात पारेका छन् । स्याङ्जाको पुतलीबजार नगरपालिका ९ कोल्मामा शनिबार भएको ३१ किलोमिटर खुला दौडमा ३१ जनालाई पछाडि पार्दै १ घन्टा ५७ मिनेट ५९ सेकेन्डमा ओखलढुंगाका खत्रीले उपाधिसहित ५० हजार हात पारेका हुन् ।
५० किमी अन्नपूर्ण दौड, विभागीय तथा काठमाडौं दौडमा स्वर्ण पदक प्राप्त गरेका खत्रीले यस्ता खालका प्रतियोगितालाई निरन्तरता दिनुपर्ने प्रतिक्रिया दिए । सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चले गरेको प्रतियोगितामा भीरकोट– ५,स्याङ्जाका १९ वर्षे अशोक थापाले २ घन्टा ३ मिनेट ३१ सेकेन्डमा दौड पूरा गर्दै ४० हजार नगदसहित सिल्ड मेडल र प्रमाणपत्र हात पारे ।
त्यस्तै जुम्लाका धीरबहादुर बुढाले तेस्रो स्थानसहित ३० हजार नगद तथा सिल्ड मेडल र प्रमाणपत्र हात पारे । बुढाले दौड २ घन्टा १० मिनेट ३ सेकेन्डमा पूरा गरे ।
त्यस्तै अन्डर २१ वर्ष १४ किलोमिटर दौडमा पुतलीबजार नगरपालिकाका कमल प्रसाद श्रेष्ठले ६४ जनालाई पछाडि पार्दै १ घन्टा १४ मिनेट ५२ सेकेन्डमा दुरी पार गरी प्रथम भए । श्रेष्ठले २० हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र हात पारे ।
त्यस्तै १ घन्टा १५ मिनेट ५२ मिनेटमा दौड पूरा गर्दे भीरकोटका गणेश गुरुङले दोस्रो हुँदै १५ हजार नगद, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै तेस्रो स्थान बिरुवाका रुद्रबहादुर भुजेलले १ घन्टा १७ मिनट २३ दौड पूरा गर्दै १० हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको मुख्य निर्णायक इन्द्रा मल्लले बताइन् ।
मञ्चले पुतलीबजार, बिरुवा र तनहुँको शुक्लागण्डकी नगरपालिकाको पछाडि परेका बस्तीलाई खेलकुदको माध्यमबाट पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले प्रतियोगितागरेको हो । दौडमा ३ वटै विभागीयसहित देशभरका परिचित तथा स्थानीय धावकको सहभागिता थियो । दौड कोल्माबाट सुरु भइ काउले, डाडाँथर, राईपुर, नाम्चे, काल्खु, खुदी, हुँदै पुन कोल्मा आएर समापन भएको थियो ।
यसैबीच, रसियन महिला धावक मरिनाले पुबनापा ९ मा आयोजित १४ किलोमिटर दौड पूरा गरेकी छन् । स्याङ्जा घुम्न आउने क्रममा ३१ वर्षीय मरिनाले दौडमा सहभागिता जनाउँदै पूरा गरेका हुन् । रसियन महिला धावक मरिनाले २ घन्टा २७ मिनेट ४६ सेकेन्डमा दौड पूरा गरेकी हुन् ।
विजेता तथा सहभागी धावकलाई प्रतिनिधि सभा सदस्य नारायणप्रसाद मरासिनीले नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरे । उक्त अवसरमा मरासिनीले खेलकुदले देशलाई विश्वमा परिचित गराएको बताए ।