थाइल्यान्डमा जारी आइसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले विजयी सुरुवात गरेकाे छ।
१२७ रनकाे लक्ष्य पछ्याएकाे मलेसिया निर्धारित ओभरमा ७ विकेट गुमाएर ९२ रनमै समेटिएपछि नेपाल ३४ रनले विजयी भएको हाे।
नेपालका लागि सरिता मगर र करुणा भण्डारीले दुई-दुई विकेट लिए। यसैगरी, सीता राना मगर र कविता कुँवरले एक-एक विकेट हात पारेका थिए।
मलेसियाका क्रिस्टिना बरेटले २१, विनफ्रेड दुरासिंगमले १८ रन बनाउँदा शसा अज्मी १६ रनमा नटआउट रहिन्। अन्य कुनै पनि खेलाडीले दाेहाेराे अंकमा रन बनाउन सकेनन्।
थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरै २० ओभर खेल्दै पाँच विकेट गुमाएर १२६ रन बनाएकाे थियाे।
नेपालका लागि सुरुवाती ब्याट्सम्यान सीता रानामगरले सर्वाधिक ४२ रन जोडिन्। यस्तै, कप्तान रुबिना क्षेत्रीले अविजित ३३ रन बनाइन्। त्यस्तै काजोल श्रेष्ठले १६, इन्दु बर्माले १३ र नेरी थापाले ६ रन जोडिन्। नेपालले दोस्रो खेलमा आयोजक थाइल्याण्डसँग बिहीबार खेल्नेछ।
एशिया छनोटमा नेपालसहित सात राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्। छनोटमा नेपाल, थाइल्याण्ड, युएई, मलेशिया, कुवेत, चीन र हङकङ रहेका छन्। राउण्ड रोबिनका आधारमा हुने छनोटको विजेताले आइसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ।