प्रजातन्त्र पुनःस्थापनाको आन्दोलन चलिरहेको थियो। हामी आन्दोलनमा उत्रिएकाले पक्राउ परेर नख्खु जेलमा थियौं।
जेलमा पत्रपत्रिका पढ्न पाइन्थ्यो। सबै पत्रिकामा आउने आतंकवादी घटनाबारेका समाचार दुर्गा सुवेदीले खुब पढ्थे जेलमा बस्दा। त्यतिबेला विश्वमा भएका ठूला ठूला घटनाबारे दुर्गाले खुब चासो दिएर पढ्थे।
हाम्रा बीचमा आतंकवाद, अपहरण, हत्याका घटनाबारे कुराकानी र छलफल हुन्थ्यो। एकदिन दुर्गा सुवेदीले ‘रामचन्द्रजी अब मलाई त बाहिरबाट जमानीमा छोड्छु भन्ने मान्छे पाएको छु। म त कागज गरेर छुट्छु जेलमा बसेर के गर्ने’ भनेर भने मलाई। बाहिर गएपछि बरु केही गर्न सकिन्छ कि भन्ने उनको आशा थियो।
‘म यो कुरा कसलाई सुनाऊँ तपाईँ नै हो यहाँ अलिक सिनियर नेता। तपाईंलाई नैतिक बन्धनमा पार्दिनँ, हुन्छ हुन्न भन्ने पार्दिनँ तपाईँलाई जानकारी मात्रै दिएको हुँ’, यसो भने दुर्गाले। पछि नभन्दै जेलबाट छुटे।
केही दिनपछि एउटा चिठी आयो। सान्दाजुुले हरि भन्ने कामदार राख्नु भएको रैछ। त्यहाँ मेरो ठूलो नोक्सानी भएछ। मेरो ठूलो दाजुले त्यसलाई मनपराउनु भएन। मेरो अवस्था यस्तो भयो, कि त मैले साहुको ऋण तिर्नु पथ्र्यो, आत्मसमर्पण सबैलाई गर्नुपर्ने भनेर एउटा सांकेतिक भाषामा दुर्गाको चिठी मलाई आयो। त्यसको केही दिनमै एकाएक विराटनगरबाट हवाइजहाज अपहरणमा पर्यो भनेर रेडियोले समाचार भनेको सुनियो। त्यसपछि मात्रै हामीले थाहा पायौं।
विराटनगरबाट काठमाडौंका लागि उडेको डिई ह्याभिल्यान्ड डिएचसिसी ६३०० ट्वीनअटर नाइन एन–एबिबी एमएसएन ३०२ हवाइजहाज २०३० जेठ २८ गते कांग्रेसले नै अपहरण गरेको रहेछ। रेडियोको समाचार सुनिनसक्दै ‘दुर्गेले गर्यो’ भनेर मेरो मुखबाट शब्द खुस्किहाल्यो । मसँगै विपिन कोइराला पनि थिए। उनले मेरो मुख थुने।
बिपी कोइरालाकै नेतृत्वमा गिरिजाप्रसाद कोइराला, सुशील कोइरालालगायतको संलग्नतामा वसन्त भट्टराई, नगेन्द्र ढुङ्गेल र दुर्गा सुवेदीले त्यो विमान अपहरण गरेका रहेछन्। नभन्दै रेडियोले त्यो विमान अपहरण गर्ने तेस्रो व्यक्तिको रुपमा दुर्गा सुवेदीकै नाम भन्यो।
विमानलाई अपहरण गरेर भारतको फारविसगन्जको घाँसे मैदानमा लगी उतारिएछ । त्यहाँ रहेको भारतीय ३० लाख रुपैयाँ कब्जामा लिएर नेपाल फिर्ता पठाइएको रहेछ। हामी जेलभित्रै भएपनि यस्ता खालका घटना हुँदाचाहिँ जेलभित्र अत्यन्तै खुशी हुन्थ्यौं।
-कांग्रेस वरिष्ठ नेता रामचन्द्र पाैडेलसँग गरिएकाे कुराकानीमा अाधारित।