मैथिली रंगमञ्चमा जीवन सुम्पिएका रामनारायण ठाकुरको नाम सुन्ने बित्तिक्कै सबैको मनमा उनको अभिनयले ठाउँ ओगट्छ। ४५ वर्षदेखि रंगमञ्चमा निरन्तर ठाकुरको अभिनय सम्झिंदा नजिकबाट जान्नेहरु हाँसो रोक्न सक्दैनन्।
मैथिली रंगमञ्चमा हाँसोको.पर्याय हुन्, जनकपुरका रामनारायण। २०१९ भदौ ४ गते जनकपुर–१५ मा जन्मेका उनको बाल्यकालदेखि नै कलामा रुची थियो। आफूले कालाकार बाबुको बिंडो थामेको ठाकुरको भनाई छ। बाल्यकालम अभिनय नृत्यतर्फ बढी प्रभावित भएका उनी विद्यालयको हरेक सांस्कृतिक कार्यक्रममा भाग लिएर गायन कलाकोसमेत प्रस्तुती गर्थे।
कलाकारितमा सक्रिय बढेपछि दाइले पढाईमा ध्यान दिन भन्दै कडाइ गर्न खोजे। तर उनको प्रतिभा रोकिएन। कति दिन त कसैलाई थाहै नदिई नाटक मञ्चन हुने ठाउँमा उनी लुकीलुकी पुगे। त्यो बेलादेखि रामनारायणले कलायात्रामा पछाडि फर्कनु परेको छैन। उनलाई मिथिला नाट्य मञ्चको संस्था मिनापले अभिनयमा प्रेरित गरेको थियो। त्यसैको परिणाम आफु आजको अबस्थामा आइपुगेको उनी सम्झन्छन्।
मञ्चमा उनलाई देख्नासाथ दर्शक प्रफुल्लित हुन्छन्। ताली गडगडाहट गुञ्जिन्छ। कहिलेकाँही त उनी एक्लै मञ्चमा उभिएर पनि दर्शकलाई हँसाउन सक्छन्।
सब–ओभरसियरको पढाइ पूरा गरेर केही समय सिँचाइ मन्त्रालय अन्तर्गत रहेर काम गरे। यतिमात्र होइन, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सर्च फर कमन ग्राउण्डको लागि समेत केही समय काम गरे उनले। तर अभिनयप्रतिको लगावले जागिरै छाडेर पुनः रंगमञ्चको दुनियाँमा हाम फाले।
मैथिलीको अभिनय क्षेत्रमा अमूल्य योगदान दिएका रामनारायण सरस्वती राजनारायण तथा युवा नाट्य कला परिषद् उत्कृष्ट अभिनेता पुरस्कारबाट पुरस्कृत भएका छन्। त्यस्तै रेडियो मिथिला, मैथिल ब्राम्हण समाजबाट पनि सम्मानित भएका छन्।
उनले मिथिलाक व्यथा, काठक लोक, चमेली टेलीश्रृंखलामा काम गरेका छन् भने मुखीया जी, प्रितमसहितको मैथिली फिल्ममा हाँस्य रसको चास्नी पस्केका छन्। रामनारायण सङ्गोर, कथा मिठो सारंगीको, बाह्र मसाला तेह्र स्वाद, ज्ञानशक्ति अछिसहितका रेडियो नाटकमा समेत मधुर आवाज दिएका छन्। यसबाहेक छक्का पञ्जा तीन, दहेजलगायत झण्डै आधा दर्जन नेपाली फिल्ममा पनि उनले अभिनय गरेका छन्।