केटाकेटी छँदा मानिसमा यौनेच्छ हुँदैन, भए पनि त्यो सायद अवचेतन स्थितिमा मात्र हुन्छ । तर जब ऊ किशोरवयबाट युवावस्थातिर बढ्न थाल्छ, उसको यौनचाहना तीव्र हुँदै जान्छ । मेरा सम्बन्धमा पनि यही कुरा लागू भएको छ ।
मेरो विवाह बाह्र वर्षको उमेरमा भएको कुरा पहिले नै उल्लेख भैसकेको छ । तर वास्तविक यौनेच्छा मेरो सोह्र–सत्र वर्षपछि मात्र जागेको हो । जागेपछि भने यो फुकेको राँगाको गतिमा बढ्न पुगेको थियो । यही गतिमा बढ्दा दुई हजार पाँच सालमा पहिली छोरी जन्मेपछि लगालग भनेजस्तो छोराछोरी जन्मँदै जाँदा बीस साल अर्थात् बिहा भएको तेइस वर्षको अवधिसम्ममा मेरो दसओटा सन्तान भए । बीचका चारओटा त मरिसकेका थिए । (यसबारेमा पहिले पनि कतै केही उल्लेख भैसकेको छ र पछि प्रसङ्ग आएका अरू पनि उल्लेख गरिनेछ ।)
म अहिले जुन कुराको वर्णन गर्न गैरहेछु त्यो २०१४ सालतिरको कुरो हो अर्थात् मेरो यौनतृष्णाको चरम उत्कर्षको समय । त्यतिखेर म कलेज अफ एजुकेसन लाजिम्पाटस्थित चेतभवनमा पढ्थेँ । त्यसैताक एकपल्ट श्रीमती सुत्केरी भएकी थिई । महिनौँसम्म यौनसम्पर्क गर्न नपाउँदा म अत्यन्त उद्विग्न रहन थालेँ । के गरौं र कसो गरौं भन्ने छटपटीले मलाई रन्थनाउन थाल्यो । जत्तिकै मन नपरे पनि आफ्नी श्रीमतीसँग बाहेक बाहिर अरूसँग यौनसम्पर्क (ज्यादै बाल्यावस्थाको अज्ञात खेलका रूपमा बाहेक, जसको विवरण पहिले नै दिइसकेको छु ।) गर्ने आँट त के सोचसम्म नलिएको मलाई त्यसपल्ट बाहिरै गएर भए पनि यौनतृष्णा मेट्ने उत्तेजना आयो ।
तर कसरी ? के भन्ला समाजले थाहा पाए ? के होला मैले आजसम्म आर्जन गरेको सामाजिक प्रतिष्ठा र इज्जतको ?.... यिनै नाना किसिमका तर्क–वितर्कले मेरो इच्छामा केही दिन निर्ममतापूर्वक अङ्कुश लगायो । तर अन्त्यमा म आफ्नो तीव्र चाहनासँग मानसिक रूपले पराजित भैसकेको थिएँ । त्यसैले यस वासनाको आग्रहलाई मैले यहाँनिर आफ्नो अनुकूल पर्ने तर्कद्वारा उचित साबित गर्ने प्रयत्न गरें । अर्थात् एउटा लेखक–साहित्यकारका लागि यस्तो अनुभव पनि आवश्यक छ, नत्र रचनामा जीवन्तता आउन सक्तैन । केवल यौनवासनाको परितृप्तिका लागि मात्र यस्तो कार्य अनुचित र अनैतिक होला, तर म त यस अनुभवलाई सामाजिक उपयोगिताको निम्ति आफ्नो साहित्यसिर्जनामा प्रयोग गर्नेछु । यसमा अनैतिकता वा अनुचित के छ ?... भन्ने यस्तै तर्क ।
कति सजिलो र अनुकूल तर्क ?.... यसै लङ्गडो तर्कको आड लिएर आफ्नो यौनइच्छालाई औचित्यको मुखुन्डो भिराएर मैले मैदानमा उत्रने निधो गरेँ । तर कहाँ जाने ?.... कससँग भन्ने ? आफूलाई यस मार्गको कुनै गोरेटोसम्म पनि थाहा थिएन । त कहाँ जाने अँध्यारामा गोली हान्न ?
तर ‘जहाँ इच्छा, त्यहाँ उपाय’ भनेजस्तो मेरो मस्तिष्कमा पनि एउटा उपाय झलमलायो । मेरो परिचयमा एक जना त्यस्तै लाइनको केटो थियो । उसलाई म मामा भन्ने गर्थे । कताकता मैले सुनेको थिएँ, ऊ यस्तो काममा निपुर्ण छ । उसको धेरै त्यस्ता मानिससँग सम्पर्क छ । त्यसैले मैले आँटै गरेर उससँग आफ्नो समस्या बताएँ, “मामा ! मलाई एकपल्ट यस्तो अनुभव गर्ने इच्छा लाग्यो; लौ न कुनै उपाय गर् । पैसा जेजति लाग्छ, म खर्च गर्छु ।”
तर उसले पत्याएन । सायद उसले ठान्यो, मैले आफूलाई निकै चरित्रवान् ठानेर उसको चरित्रप्रति व्यङ्ग्य गरेर उसलाई होच्याउने नियतले यस्तो कुरा गरेको हुँ । उसले केही रूखो र खिस्सिएझैँ स्वरमा भन्यो, “के भानिज पनि !.... तपाईंजस्तो मानिसले पनि मलाई उडाउने ? के तपाईंलाई पनि म त्यस्तो काम गर्छु जस्तो लाग्छ ? तपाईंले पनि मलाई त्यस्तो भन्ठान्नुभा छ ?”
पहिले त म आफैं लज्जित भएर एक भन्नु न दुई भन्नुको स्थितिमा परेँ । मैले उसलाई होच्याउने वा उसको परीक्षा लिने नियतले त्यो भनेको नभएर आफ्नै वास्तविक इच्छा नै प्रकट गरेको थिएँ तर पत्यार गराउन निकै प्रयत्न गर्नुप¥यो, “मामा ! तँलाई म किन त्यस्तो ठान्थेँ ? तर के गरूँ ? कसलाई भन्न जाऊँ ? मलाई अहिले ज्यादै आपद् परेर तँलाई भनेको । अरूलाई भन्न पनि त सक्तिनँ म । तँ आफ्ना ज्यादै घनिष्ठ भएर पो भन्ने आँट गरेको... ।”
आखिर ज्यादै अनुनय गरेपछि र उसलाई निकै माथि पु¥याएपछि ऊ बल्लतल्ल विश्वस्त भयो । अन्त्यमा उसले मलाई त्यस्तै ठाउँमा लैजाने आश्वासन दियो । त्यसकै भोलिपल्ट साँझ छिप्पिएपछि सिफलेको धारानिर बस्न भन्यो । म त्यसै मुताबिक भोलिपल्टै झमक्क भएपछि सिफलेतिरबाट कुटुबहाल–चाबहिलतिर आउने मूल सडक छोडेर देब्रेतिर धारानिरको धोबीखोला झर्ने उत्तरपट्टिको गोरेटोको मुखमा उसलाई पर्खेर बसेँ । केहीबेर पर्खेपछि ऊ आइपुग्यो । उसले मलाई छिडीभित्र लग्यो र केही पर पुगेपछि मलाई एकछिन त्यहीँ बस्न भनेर आफू त्यहाँभन्दा अलि तलको एउटा घरमा गयो । (अहिले त त्यो घर पनि छैन र त्यो मानिस पनि छैन ।)
त्यो घर एउटा निम्न श्रेणीको यौनव्यापारको थलो थियो । रात औँसीको थियो । त्यस छेडोमा एकान्त र शून्य–चकमन्न थियो । त्यहाँ हतपती कोही आइहाल्ने पनि त्यति सम्भावना थिएन । त्यसमाथि मैले कालो ओभरकोटले आफूलाई पूरै ढाकेको थिएँ । तर पनि म आफ्नो यस गर्हित कार्यका लागि यस अभियानको चेतनाबोधले आपैmँभित्र कति भीत र त्रसित भएको थिएँ भने त्यहाँ, त्यस चकमन्न र स्याइँस्याइँ रातको शून्यतामा कुनै मुसो वा फट्याङ्ग्रो अथवा छेपाराले पनि सरक्क ग¥यो भने त्यसको झीनो आवाजलाई पनि तोपको विस्फोटझैँ अनुभव गर्न पुग्दथेँ । अनि प्राण सुकेझँै भएर थरथर काम्दै नीलकाँडे डिलको भित्तामा लेप्सिन पुथ्थेँ ।
दुई–चार (हद्द बितेको भए पाँच) मिनेट बितेको हुँदो हो, तर यो छोटो अन्तरालले पनि मलाई युगान्तरको भान गराइरहेको थियो । अब म मुकुन्द चाँडै आओस् र एउटा टुङ्गोमा पुगिहालोस् भनेर मनमनमा प्रार्थना गरिरहेको थिएँ र बेलाबेलामा अत्यन्त दबेको स्वरमा उसलाई बोलाउँथेँ पनि, “मामा !... ए मामा !”
अनि एक्कासि म उभिएको ठाउँदेखि बीस–पच्चीस कदमजति पर, मूल सडकको दिशातिरबाट व्रmमशः बढ्दै आएको पदचाप र दुई जनाको गुनगुन स्वरले मेरो मुटु ढुकढुक पार्न थाल्यो । दुई जनामध्ये एक जनाको स्वर मैले निश्चित रूपमा पहिचान गरेँ । त्यस स्वरका मालिक लगभग मेरा बाको उमेरका थिए र उनी बराबर मेरा बासँग पासा खेल्न पनि आउने गर्थे । उनलाई टोलमा अरिङ्गालको नाउँबाट जानिन्थ्यो र समाजद्वारा अनुचित ठानिने कतिपय कुराहरू उनको स्वभावमा निहित थियो । त्यसैले उच्च वर्णमा जन्मेर पनि उनलाई समाजमा अलि त्यस्तै दृष्टिले हेरिन्थ्यो ।
वास्तवमा उनको मनमा पनि आफ्नै चरित्रप्रति ग्लानि र पश्चात्ताप थियो भन्ने कुरा उनले यदाकदा मसँग प्रकट गरेको उद्गारबाट थाहा हुन्थ्यो । उनका आँखामा मेरो निकै उच्च स्थान थियो र उनी मलाई बारम्बार प्रशंसा गर्दै हौस्याउने गर्थे, “बाबू ! तिमी मेरो छोरासमान छौ । तर तिम्रो चरित्र, तिम्रो गुणलाई म कदर गर्छु । हाम्रो त यस्तै नराम्रो लतमा जीवन गैहाल्यो । अब सुधार गर्न चाहेर पनि सुध्रिन्न; हामी तिमीहरूकै राम्रो चरित्र र उन्नति हेरेर चित्त बुझाउँछौँ । लौ बा, आफ्नो चरित्र बिग्रन नदिए । हामीले जस्तो पछि आएर तिमीले पछुताउनु नपरोस् ।”
यसरी मेरो चरित्रलाई सह्राउने, मेरो इज्जत र सम्मानसाथ प्रशंसा गर्ने आफ्ना पितासमानका मानिसले मलाई यस अवस्थामा त्यहाँ देखे भने मेरो के स्थिति होला ? उनका आँखामा मेरो कुन स्थान रहला ? आजसम्म उनको हृदयको उच्च स्थानमा रहेको म, त्यहाँबाट कति तल कुन रसातलमा पुगौँला ? त्यसपछि म उनको र आफ्ना मान्यजनका सामु कसरी शिर ठाडो पारेर उभिन सकुँला ? के मलाई मरेतुल्य अनुभव नहोला ? यस्तै तर्कनाको करौँतीले त्यतिखेर मेरो मस्तिष्कलाई चिर्न थाल्यो ।
यति बेला एउटा सानो दुईफुटे गोरेटोमा उभिएको थिएँ र ती बुज्रुकले मलाई भेटेमा नचिन्ने सम्भावना नै थिएन । त्यसैले मैले उनको सामु पर्नु कुनै पनि हालतमा उचित थिएन । तर म त्यहाँबाट कता भागौँ ? एकातिर नीलकाँडाको बाक्लो बार थियो भने अर्कोतिर कान्लो । कान्लो झन्डै एक–डेढ तला अग्लो थियो र त्यसभन्दा तल अँध्यारो थियो । ‘एकातिर भीर त अर्कातिर भड्खारो’ भन्ने भनाइलाई चरितार्थ गर्ने त्यस्तो विकट स्थितिमा परेको बिचरो म आफू अपराधकार्यमा पक्डाउ पर्ने डरले ज्यादै विचलित भएँ । अनि त दाहिनेदेब्रे, तलमाथि केही नहेरी नीलकाँडाको झाङलाई फट्केर एक तला अग्लो कान्लो हामफालेर तल्लो बारीको सुर्कोमा दुम्किन पुगेँ ।
व्रmमशः ती दुई बुज्रुकको गुनगुन नजिकबाट टाढिँदै गएपछि म केही आश्वस्त भएँ र अनि जिमीबाट उठेर सोझोसम्म त भएँ, तर एक तलाको कान्लो उक्लिएर बाटोमा जाने आँट भने सँगाल्न सकिरहेको थिइनँ । निकैबेरसम्म ढुकढुक ठोक्दो मुटु लिएर भाग्ने अवसरको प्रतीक्षा गर्दै दुम्किइरहेँ । केहीबेर यही अधमरो स्थितिबाट गुज्रिएपछि मामाको आवाज सुनियो, “रामबाबू !....रामबाबू ! ए भानिज !”
मामा दबेको स्वरमा मलाई हकार्दै माथि बाटामा आयो ।
“म यहाँ छु मामा !” मैले मुर्दास्वरमा प्रत्युत्तर दिएँ र बल्लतल्ल नीलकाँडाको झाङ पन्छाउँदै कान्लो उक्लेर बाटामा आएँ । मामाले भन्यो, “भानिज ! आजलाई मिलेन । भोलि बेलुकी पक्कै हुन्छ रे ! आज उसकहाँ पुलिसको डि.आई.जी. आउँछ रे ! त्यसैले आज अरूलाई बात गरेकी उसले ।”
हुन त मैले त्यस बेला आफ्नो त्यस्तो तीव्र इच्छा पूर्ति गर्ने यत्रो कठिन अभियान विफल भएकोमा क्षुब्ध हुनुपर्ने र असन्तुष्ट हुनुपर्ने हो, तर त्यसो भएन । उल्टो म मनमनै अत्यन्त खुसी नै भएँ र मनमनै ईश्वरलाई धन्यवाद दिएँ– ‘धन्यवाद छ ईश्वर ! आज यस अनैतिक अभियानलाई असफल गराएर मलाई एउटा चरित्रिक विचलनको भयानक खाल्टोमा जाकिनबाट बचायौँ ।... अबदेखि म यस्तो प्रयास कहिल्यै गर्ने छैनँ ।’
त्यस बखतको मनस्थितिमा मैले आफ्नो यस अभिसारयात्रालाई अत्यन्त गर्हित सम्झेर अपराध र पापबोधको अनुभव गरेँ र त्यति बेलासम्म ‘ईश्वर’को अस्तित्वमाथि विश्वास नगर्ने मैले ईश्वरलाई धन्यवाद पनि दिएँ । तर आज म यस मामिलामा के टुङ्गोमा पुगेको छु भने कामेच्छा मानिसको जीवनको एउटा सबैभन्दा प्रबल र प्राकृतिक इच्छा हो । यसको सीधा सम्बन्ध प्रजननचेतना र जाति (वंश) वृद्धिको नैसर्गिक प्रवृत्तिसँग हुने भएकाले यसलाई जतिसुकै प्रबलतासँग दमन गरे पनि मौकामा यो माथि परेपछि आफ्नो प्रकाशनको लागि उचित, अनुचित कुनै पनि प्रकारको छिद्र खोज्दो रहेछ । उचित नपाए अनुचित मार्गबाटै पनि निकास पाउने प्रबल प्रयत्न गर्दो रहेछ । त्यसैले यौवनको चरमोत्कर्षको बेलामा कदाचित् कसैले भूलचूक गरिहाले पनि त्यसलाई गम्भीर चारित्रिक विचलनका रूपमा लिनु हुन्न र त्यसैलाई हीनताबोधको विषय तुल्याएर हेर्नु पनि हुन्न । यो एउटा स्वाभाविक र नैसर्गिक चाहना हो र कुनै त्यस्तै घडीमा यसको प्रबल वेगमा मानिस बग्न सक्छ ।
यसै निष्कर्षमा पुगेर मैले आफ्नो त्यस बखतको त्यस धरमरलाई गम्भीरतासाथ लिएको पनि छैन र हीनताबोधको सामल बनाएको पनि छैन । बरु यस्ता एकाध विचलनका घटना भैहालेमा त्यसको प्रायश्चित्त मैले श्रीमतीको न्यायबेन्चसामु आत्मस्वीकृतिको रूपमा प्रस्तुत गरेर गरेको छु ।
(मञ्जरी पब्लिकेसनले हालै बजारमा ल्याएको रमेश विकलको आत्मकथा मेरो अविरल जीवनगीतबाट)