गाउँका अरूजस्तै उनले पनि ब्रिटिस लाहुरे हुने सपना साँचेका थिए । त्यसैअनुसार गाउँनजिक आएको गल्लाले छाती नापेर अर्को चरणको परीक्षणका लागि बोलाएको थियो । उनी झनै उत्साहित भएका थिए । तर ब्रिटिस गोर्खा क्याम्पमा जानु केही दिनअघि घाँस काट्न जाँदा भीरबाट लडेपछि जीवनको बाटो मोडियो । केही दिन त बेहोसै भए । कम्मरभन्दा मुनिको भाग नचल्ने भयो । हिँड्न सकिन्छ कि भन्ने आशामा उनले तातोपानीमा डुब्नेदेखि हरेक अस्पतालसम्म चहारे । अनेक उपाय गरे । तैपनि केही सीप लागेन । सुतेर दिन काट्ने क्रममा रेडियो सुन्दै गाउने अभ्यास गर्न थाले । रेडियोमा गएर गाउने सपना देख्न थाले । त्यो सपना पछ्याउन गृहजिल्ला म्याग्दीको बेनीदेखि काठमाडौंसम्म अनेक हन्डर खाए ।
काठमाडौंमा पनि जीवन धान्ने जागिरको खोजीमा हीलचेयर घिसार्दै हरेक गल्ली चहारे, अपांगतासम्बन्धी संघसंस्था धाए । यस क्रममा उनी कैयौं ठूला भनिने मानिसले होच्याए, अपमान गरे । तैपनि हरेश खाएनन् । अन्ततः सेन्ट जेभियर सोसल सर्भिसको आश्रय पाए । अनि रेडियो धाउँदै गायक बन्ने धोको सपना पूरा गरे । समय क्रममा उनी देशका स्थापित लोकगायक भए । मौलिक सालैजो भाकालाई सबैका सामु परिचय गराए । उनै लोकगायक खड्ग गर्बुजाको जीवन संघर्ष समेटिएको पुस्तक ‘मोडिएको बाटो’ माथि बुधबार राजधानीमा अन्तरक्रिया गरियो । प्रकाशक घोस्ट राइटिङ नेपालले आयोजना गरेको कार्यक्रममा सहभागीले पुस्तक अपांगता भएका मात्रै नभई सांग व्यक्तिका लागि पनि प्रेरणास्रोत हुने उल्लेख गरे । लेखक गर्बुजाले पुस्तकमा साधारण मान्छेको ठूलो व्यथा रहेको भन्दै त्यसमा अहिलेसम्मको जीवन समेटेको बताए ।
घोस्टराइटिङ नेपालका सम्पादक टंक पन्तले राज्यले माया गर्ने, राज्यका लागि चाहिने व्यक्तिको पुस्तक मोडिएको बाटोमा आएको बताए । प्रकाशक घोस्ट राइटिङ नेपालले प्रत्येक मान्छे पुस्तक भएको र त्यसका लागि आफू लागिरहेको र गर्बुजाको पुस्तकले ग्लुकोजकै काम गर्ने उनले बताए ।