आदिकवि भानुभक्त आचार्यको जन्मगाउँमा भानु नगरपालिका ५, चुँदीरम्घामा अन्तर्राष्ट्रिय कवि सम्मेलन गरिने भएको छ ।
गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले चैत २९ र ३० मा कवि सम्मेलन गर्न लागेको हो। मञ्चका अध्यक्ष आकाश अधिकारीका अनुसार सम्मेलनमा देश तथा विदेशबाट गरी ६० बढी साहित्यकार सहभागी हुनेछन्। सम्मेलनमा नेपालका साथै भारत, बङ्गलादेश, भूटानबाट साहित्यकार आउने निश्चित भइसकेको छ।
भानुभक्तको व्यक्तित्व विश्वसामु परिचित गराउने, चुँदीरम्घालाई साहित्यिक तीर्थस्थल र भाषिक केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको अधिकारीले बताए।
कार्यक्रमकै अवसरमा तनहुँका साहित्यकारका लेखरचना प्रकाशित गीतल गुञ्जन नामक पुस्तक विमोचन गरिने कार्यक्रम पनि तय गरिएको छ।