‘म बिना कसै–कसैलाई मुश्किल छ पोखरामा’, नेपथ्यबाट चिरपरिचत आवाज गुञ्जियो। खचाखच भरिएको सभागृह हलमा एकाएक ठुलो ‘चियर–अप’ सुनियो।
घुम्रिएको लामो कपाल। हातमा माइक लिएर कालो सुटमा ठाँटिएर स्टेजमा झुल्किए उही गायक प्रमोद खरेल। शायद पोखरामा आएकैले होला, उनले शुरुवात नै त्यही चर्चित गीतबाट गरे।
यो गीतलाई पोखराकै गीतकार शितल गिरीले लेखेका हुन्। गीत सकिएपछि प्रमोदले शितललाई अगाडि बोलाए। र, सम्मान गरे। ‘मान्छे झापाको भएपनि पोखरासँग एउटा अलग्गै खालको साईनो गाँसिएको छ। पोखराले पनि मलाई कहिल्यै पराई ठानेन। त्यसैले त पोखरेलीमाझ म यसरी माया साट्न आईपुगेको छु।’ प्रमोदले शुरुवातमै पोखरेलीको ध्यान खिचिहाले।
प्रमोदले थपे,–‘म कहिल्यै गीत गाउँदा आफू मात्र हिट हुनुपर्छ भन्ने मान्यता राख्दिन। गीतसँग जोडिएका हरेक स्रष्टाले उत्तिकै चर्चा कमाउनुपर्छ भन्ने मेरो धारणा हो। एउटा गीत हिट हुनलाई पर्दा पछाडि धेरैजनाको मेहेनत हुन्छ।’ प्रमोदले यति भनिसकेपछि अर्को गीत गाउन थाले।
जब उनले ‘याद गर्न पनि कोहि न कोहि त चाँहिदो रहेछ’ गीत गाए, ‘ब्याकड्रप’मा भएको ‘एलइडी स्क्रिन’मा पोखराकै चर्चित नेता रवीन्द्र अधिकारीको फोटो देखियो। केही दिन अगाडि मात्रै हेलिकप्टर दुर्घटनामा निधन भएका रवीन्द्रलाई ‘डेडिकेट’ गर्दै उनले गीत गाइरहँदा सभागृह हल एकाएक भावुक बन्यो। रवीन्द्र अधिकारीलाई धेरैले ‘मिस’ गरे।
एमाले नेता योगेश भट्टराईदेखि पोखरा महानगरपालिका कार्यालयका मेयर मानबहादुर जिसीसँगै राजनीतिक र कलाकारिता क्षेत्रका विज्ञहरु पनि कार्यक्रममा सहभागी थिए। सबैजना प्रमोदको गायनमा झुमे। अन्तिमसम्म पनि दर्शक चाप यथावत रह्यो। कार्यक्रम अवधीभर प्रमोदले करिब दुई दर्जन आफ्ना चर्चित गीतहरु गाएका थिए।
बीचमा गायिका मिना निरौलाले प्रमोदलाई साथ दिईन्। पुराना म्यास–अप गीतमा यी दुईको केमेष्ट्री खुब जमेको थियो। प्रमोदलाई हलमा सुन्न आएका स्रोताहरुको लागि यो विशेष प्याकेज थियो। त्यसैमाथि अर्का हाँस्य कलाकार मनोज गजुरेलले उपस्थित दर्शकहरुलाई हँसाए।
‘पोखरामा प्रमोद खरेल’ स्वयं प्रमोद खरेलकै लागि पनि विशेष थियो। कारण, यस्तो प्रकृतिको कार्यक्रम उनका लागि पहिलोपटक नै थियो। उनका एकल प्रस्तुतीहरु नभएका होईनन्। तर यहाँ भएको कार्यक्रमको व्यवस्थापन, प्रकृति र उद्देश्य बिल्कुल नौलो थियो। त्यसैले उनको जीवनकालकै ऐतिहासिक कार्यक्रमको रुपमा उनले यहाँको कार्यक्रमलाई लिएको बताए।
एभिन्यु ग्रुप अफ कमर्शको आयोजनामा भएको कार्यक्रमलाई यहाँकै बार्दली मिडिया प्रालिले व्यवस्थापन गरेको हो। आयोजक पनि यो कार्यक्रमलाई लिएर निकै खुशी भएको छ। त्यस्तै कार्यक्रमको व्यवस्थापनको जिम्मा लिएको बार्दली मिडिया प्रालिले कार्यक्रम सफल बनाउन भूमिका खेल्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेको छ।