उसै त साउन, त्यसमाथि पनि सोमबार। आइतबार रातिदेखि नै उसलाई निद्रा लागेको थिएन। कतिबेला उज्यालो होला र मन्दिर पुगौँला भनेर छट्पटी भइरहेको थियो। मोबाइलमा बिहान ४ बजेको आलम लगाएर सुत्दा पनि पटक–पटक ब्युँझिइ। उसलाई त्यो रात पुस माघको रातभन्दा पनि लामो भइरहेको थियो। नहोस् पनि किन?
वर्ष दिनदेखिको प्रतिक्षा साउनको पहिलो सोमबार। ऊ अर्थात् रमिता। नाम पनि कस्तो? अरु कसैले चिच्याएर उसलाई बोलाए भने वरपरका मान्छेहरु अचम्म मानेर हेर्थे। ऊ जन्मिदा निकै खुसी लागेर बाबुआमाले नाम नै रमिता राखिदिएका रे। उसलाई पनि आफ्नो नाम कम्ती प्यारो लाग्दैन। हुन त आफ्नो नाम सबैलाई राम्रो लाग्छ नै। रमिता आलम बज्नु पाँच मिनेट अघि नै ब्युँझिइ। हत्तपत्त नुहाइ, हरियो सारी लगाएर फूल, प्रसाद लिएर बाहिर निस्किइ। भर्खर उज्यालो हुँदै थियो।
उसलाई भने चौपट हतार थियो। लाग्छ, ऊ जहाँ जाँदै छ, त्यहाँ पाउने कुरा ऊ नपुग्दै अरुले सकिहाल्छन्, रित्तोहात फर्किनुपर्छ। त्यसैले पछाडि नफर्की हिँडी। मन्दिर पुग्दा त लामै लाइन भइसकेछ। उसलाई त्यही डर थियो, जुन उसले देखी। परैबाट लामो लाइन देखेपछि उसले मनमनै भनी ‘तीन बजे नै उठेर चार बज्दा यहाँ आइसक्नुपर्ने रहेछ। अर्को सोमबार त जानेकी छु।’
मनको भगवान महादेवको पूजा आराधना उसको सबैभन्दा प्रिय कर्म हो। लाइन देखेर फर्किने कुरा पनि त भएन। सबैभन्दा पछाडि गएर उभिइ। पछाडि पर्नु परेकोमा आफैंलाई धिक्कारी। तर, एकैछिनमा आफूभन्दा पछाडि आँखाले देखेसम्म ब्रतालु देखेपछि भने भाग्यमानी नै ठानी। झण्डै २ घण्टापछि समयले उसलाई महादेवको अगाडि पुर्यायो। ऊ केहीबेर नतमस्तक भईँ। के गरुँ, कसो गरुँ भो उसलाई। तपाई किन टोलाएको? पण्डितजीको आवाज सुनेपछि ऊ झल्याँस्स भईँ। हो त नि.. भित्र भित्रै हराएछुँ, यो पनि तिम्रै लीला हो महादेव। तिमी छौं र त म यस्ती भएकी छु ... मनमनै भनी अनि पण्डितजीको इशारा अनुसार पूजा आराधना गरी। बेलपत्र हातमा लिएर नमस्कार गर्दै गर्दा उसले खै के के सम्झी.. आँखा चिम्लिएकी थिर्इँ ऊ। फेरि पण्डितजीले अब बेलपत्र चढाउनुस् भनेपछि झसंग भईँ। हर, हर महादेव।
मन्दिरबाट बाहिर निस्केपछि ऊ फुरुङ्ग भईँ, ठूलै कुरा पाएजस्तो। सानो छँदा बाबाले दशैंमा नयाँ लुगा ल्याइदिँदा ऊ जति खुसी हुन्थी, आज पनि त्यो भन्दा कम खुसी छैन ऊ। आफैँलाई प्रश्न गर्थी, म आज किन यति धेरै खुसी छु? मन्दिर जान उसलाई जति हतार थियो, घर फर्किन पनि त्यो भन्दा कम हतार थिएन। साढे ६ बजिसकेको थियो। मुटुको टुक्रोलाई स्कुल पुर्याउनु थियो। घरका महादेवको पनि सेवा गर्नु थियो। मन्दिरको महादेवको पूजाले पनि उसलाई पुग्दैन थियो। आफैले रोजेर नभई बाबा आमाले रोजेर विहे गरिदिएका थिए।
न पहिले न अहिले ऊ रमाउन त सकेकी छैन। तर, बाबा आमाको खुसीका लागि ऊ हँसिली भइदिन्थी। केबल बनावटी। आखिर मेरो जिन्दगी यसैगरी बित्ने हो त? ऊ सोचिरहन्थी। न बा आमाले बुझे न पतिदेवले। मुख्य चिन्ता यही थियो। महादेवको पूजा गर्न त आमाले बच्चैदेखि सिकाएकी थिइन्। पछि थपिएको चिन्ताले उसलाई महादेवकै शरणमा पुर्याइदियो।
स्कुले दौतरीहरु लोग्ने, स्वास्नीको हात समाएर मस्की मस्की हिँड्छन्। गाउँमा सँगै हुर्केका दिदी बहिनीले फेसबुकमा पोस्ट गरेका फोटो देखेकी छे। त्यसले पनि उसमा थप पीडा हुन्छ। फेसबुक अकाउण्ट छ। तर, अपडेट गर्न गाह्रो छ उसलाई। कहिले काँही मुटुको टुक्राको फोटो हालेर रमाउँछे। भाग्यमा यस्तै लेखेको रहेछ भनेर चित्त बुझाउँछे, अनि महादेव सम्झिन्छे।
उसलाई साँच्चिकै हतार थियो। त्यसैले त मन्दिरबाट फर्किदा पनि हस्याँङ् फस्याँंङ गर्दै छे ऊ। घरको गेट नजिकै पुगी। सारीमा अल्झाएको मोबाइलमा टुंग आवाज आयो, वाइफाई टिपेछ क्यारे। त्यो आवाज मेसेन्जरको हो भनेर ठम्याउन गाह्रो भएन। मेसेन्जरमा ऊ अभ्यस्त भइसकेकी थिईँ। दिउँसो घरमा खाली हुँदा मेसेन्जर साथी बनिसकेको थियो। हत्तपत्त मोबाइल हेरी। नभन्दै एउटा मेसेज थियो, ह्याप्पी मन्डे, गड ब्लेस यु। मेसेज हेरेर एकछिन टोलाई। खोई के लाग्यो, वरपर हेरी। कोही नदेखेपछि उसले पनि रिप्लाई लेखि: थ्याङ्क यु, सेम टु यु।
मान्छेलाई खुसी हुन के नै चाहिन्छ र? ऊ पनि खुसी भईँ। मनमा खुल्दुली त चलेकै थियो। तर, त्यसमा हराउने फुर्सद छैन उसलाई। गेट खोलेर भित्र पसी। घरका महादेवको दर्शन गरी अनि नियमित काममा लागी। तिमी आज निकै खुसी देखिन्छ्यौ नि ... पल्लो कोठाबाट घरका महादेवको आवाज सुनियो। मन्दिर गएर आउँदा पनि को बेखुसी हुन्छ र? उसले पनि जवाफ फर्काइ। बाबुलाई स्कुल पुर्याउनु है म अलि चाँडै निस्कनु छ, महादेवको अर्को सन्देश आयो। हुन्छ नि हजुर ... उसले पनि नम्र स्वरमा स्वीकारोक्ति जनाइ। आखिर उसको चाहना पनि यस्तै थियो। मन्दिरका महादेवले कुरा बुझेछन् कि क्या हो?
साउन महिनाभरै व्रत। सोमबार त अन्न खाने कुरै भएन। सामान्य फल प्रसाद लिने न हो। त्यसका लागि खासै मेहेनत गर्नै परेन। घरका महादेव पनि बाहिर जाने भएपछि झनै सजिलो। एउटा स्याउ, एउटा केरा, एउटा आँप अनि एक गिलास दूध... फलाहार पुगिहाल्यो। बिहानै हेरेको मेसेज अनि आफूले दिएको रिप्लाइ उसको मनमा खेलिरहेको थियो। मुटुको टुक्रालाई स्कुल नपुर्याएसम्म मोबाइल हेर्ने फुर्सद नै कहाँ हुन्छ र? त्यसपछि फेरि मोबाइल हेरी। त्यही साथीको अरु दुई तीनवटा मेसेज आएको रहेछ। खै किन हो? अहिले उसको मुटुको धड्कन बढेको छ। कस्तो कस्तो लागिरहेको छ। मेसेज हेर्न भ्याएकी छैन। तर, पनि मनमा के के कुरा खेलिरहेको छ। न सोच्न सक्छे, न अरु कसैलाई भन्न सक्छे। मेसेज क्लिक गर्छे पुरै हेर्छे अनि फेरि घोरिन्छे।
आज त सोमबार। धेरै सोच्न हुँदैन, भगवानको नाम बाहेक अरु केही सोच्नै हुँदैन। यो त उसको लत नै भइसकेको छ। घर अनि माइतीको इज्जतले पनि उसलाई अन्य कुरा सोच्नै दिँदैन। म मा त ठूलो जिम्मेवारी छ नि, यताउता सोच्न पनि हुँदैन, मनमनै भन्छे। यत्रो इज्जत, यत्रो प्रतिष्ठा मेरै काँधमा त छ नि .. यस्तै यस्तै सोचिरहन्छे।
नामै रमिता। कहानी पनि रमितै छ। जिम्मेवारी पनि रमितै छ। रमितै रमिताले थिचिएकी छे रमिता। मेसेन्जरमा आएको मेसेजले फेरि अर्को रमिता थपेको छ। हर हर महादेव ... महादेवलाई सम्झिन्छे र मेसेजको फेरि रिप्लाई टाइप गर्न थाल्छे। अलिकति खुसी, अलिकति डर जस्तो। किन यस्तो हुन्छ? कुन्नी किन हो? आफै प्रश्नोत्तर गर्न थाल्छे। फेसबुकको साथी, फेसबुकले नै चिनाएको। होइन, होइन। उसलाई त राम्रोसँग चिन्छु, भेट पो नभएको हो त? भेट हुन पनि के गाह्रो छ र? मनमा अनेकन् कुरा खेलाउँछे। अहँ हुन्न। मेरो यत्रो जिम्मेवारी छ, मैले यता ध्यान दिन हुन्न। सम्हालिन खोज्छे।
मेरो जीवन कस्तो? फेरि सोच्छे। नुनबिनाको तरकारी जस्तो, सुनबिनाको गहना जस्तो? फूलबिनाको माला जस्तो कि चिनीबिनाको चिया जस्तो? होइन होइन। मसँग के छैन? सबै थोक छ नि। तैपनि किन यस्तो त? आखिर केही न केही त अपूरो पक्कै छ। अपूरो के? मलाई नै थाहा छ, भन्ने कुरा नि भएन। चित्त बुझाइ।
खै किन हो, न उसले बिर्सन सकि? न अर्कोले मेसेज पठाउन छोड्यो ..। साउन हो नि। प्रार्थना त महादेवले सुनेकै छन्। भगवानले सबै कुरा थाहा पाउँछन् भनेको हो रैछ। नत्र किन यस्तो हुन्थ्यो त? मनमा कुरा खेलाउन कति समय नै चाहिन्छ र? उसले पनि खेलाइदिइ।गुड मर्निङदेखि गुड नाइटसम्मका मेसेज नहेरेसम्म निद्रै नलाग्ने पो भो त। अझै मेसेज त बेस्ट विसेज.. सम्म पनि पुग्न थाल्यो। मेसेज हेरेर मख्ख हुन्थी, केहीबेर बहकिन्थी अनि आफ्नो जिम्मेवारी सम्झिन्थी र बाइ भनेर बिदा हुन्थी। आखिर साउन न हो। महादेवको महिना। महादेवले पीडा बुझे। ऊ रमाइ।मेसेज व्यक्तिगत त हुने नै भयो। त्यसैले पर्सनल अट्याचमेन्ट गरायो। अब त जवाफ पनि के नै दिनु र ? भन्ने, सुन्ने र सुनाउने के नै बाँकी रह्यो र? भेट नभएको मात्रै न हो। भेट भएको भए त ...
सजिलै उड्न सक्ने मन नै त हो। कल्पनाले मनलाई उडाँउछ। न पखेटा, न इन्जिन, न इन्धन। सजिलै जहाँ पनि। साउनले शरीरको आवरण हरियो छ। मन पनि हरियै भएको छ। कल्पना हराभरा भएको छ। जे अपूरो थियो, अब पूर्ण भएको महसुस भएको छ। महादेवको आराधनामा अझ बढी दिलचस्पी बढेको छ। घरमा महादेव, मन्दिरमा महादेव अनि मेसेन्जरमा महादेव। चैत बैशाखमा फुस्रा भएका पखेरा हरिया भएका छन्। खहरे उर्लेका छन्। खोला नदी समुन्द्रतुल्य छन्, रमिताको मन जस्तै।
पखेराले रुप फेर्न एउटा ऋतु सकिनुपर्छ। खेतबारीले रुप फेर्न एउटा बाली काटिनुपर्छ। तर, मान्छेको रुप फेर्न क्षणभरको मन फेरिए पुग्छ। खै के भो के भो? रमितामा छाएको हरियालीले भदौ देख्न पाएन। बिचरी रमिता। लामो शास फेरि र भनी हर हर महादेव।