नेपाली चलचित्रको ओरालो लागेको कारोबारलाई यो वर्षको दसैंमा प्रदर्शनमा आएका दुई चलचित्रले चलायमान बनाएका छन्।
यो दसैंमा प्रदर्शनमा आएका दुई ठूला फिल्म ‘छक्का पञ्जा ३’ र ‘जय भोले’ले आशालाग्दो कारोबार गरेपछि चलचित्रको खस्केको व्यापारमा केही राहत मिलेको हो। यी दुवै फिल्मले लगानी सुरक्षित गर्न सफल भएका छन्।
निर्माता तथा निर्देशक अशोक शर्माले प्रदर्शनको पहिलो हप्तामा नै चलचित्र जय भोलेले लगानी सुरक्षित गरेर मुनाफाको बाटोमा दौडिएको बताए। उनका अनुसार, फिल्मले पहिलो हप्तामा ३ करोडमाथि कमाइसकेको छ। यसैबीच घटस्थापनाबाट प्रदर्शनमा आएको ‘छक्का पञ्जा ३’ को पनि दुई हप्ते कलेक्सन रिपोर्ट सार्वजनिक भएको छ।
निर्माण टिमका एक सदस्यले दिएको जानकारी अनुसार, फिल्मले प्रदर्शनको दुई हप्तामा १३ करोड ६० लाख ग्रस कलेक्सन गरेको छ। २ करोड आसपासमा निर्माण भएको फिल्मले प्रदर्शनको पहिलो हप्तामा नै लगानी सुरक्षित गरेको थियो। प्रदर्शनको दुई दिनमा नै यो फिल्मले २ करोडमाथि कमाएको थियो।
कमेडी जनरा, टिम र हिट फिल्मको सिक्वेलले फिल्मको कलेक्सनमा भरपुर साथ दिएको छ। अब यो फिल्म ‘छक्का पञ्जा’ को १६ करोडको ऐतिहासिक कलेक्सन रेकर्ड ब्रेक गर्ने दौडमा छ।