बलिउड महानायक अमिताभ बच्चनले सयौं किसानको ऋण तिरिदिएका छन् । उनले उत्तर प्रदेशका किसानहरुले लिएको रकम चुक्ता गर्न बैंकमा ४ करोडभन्दा बढी रकम बुझाएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।
मंगलबार अमिताभले आफ्नो ब्लगमा १३९८ जना किसानको ऋण तिरिदिएको उल्लेख गरेका थिए । भारतमा किसानहरु ऋणको मारमा रहेकाले उनीहरुलाई सहयोग गरेको बच्चनको भनाई छ ।
ऋण उनले बैंक अफ इन्डियामार्फत एकमुष्ट तिरेको पनि प्रष्ट पारिएको छ । ऋण तिरेको कागज अमिताभले एक मुष्टरुपमा किसानहरुलाई हस्तान्तरण गर्ने बताएका छन् । सबै किसानलाई मुम्बई ल्याउन समस्या भएपछि एउटा रेलको डिब्बा नै रिजर्भ गरिएको छ ।
किसानहरुलाई २६ नोभेम्बरमा बैंकबाट ऋण फुकुवा भएको कागजात प्रदान गर्ने तयारी गरिएको छ । सन् २००७ मा अमिताभ बच्चनलाई जमीनको सम्झौताको विषयमा आरोप लगाइएको थियो ।
उनले ९० हजार बर्ग फुट जमीन अवैध तरिकाले भोग चलन गरेको भन्दै अदालतमा मुद्दा परे पछि उक्त जमीनको दावी छाडेका थिए । त्यसपछि अदालतको मुद्दा पनि फिर्ता भएको थियो ।