‘ठग्स अफ हिन्दुस्तान’ बक्स अफिसमा फ्लप भएपछि अभिनेता आमिर खानले पहिलोपटक प्रतिक्रिया दिएका छन् । उनले सोमबार पत्रकारलाई प्रतिक्रिया दिँदैं फिल्म दर्शकले मन नपराउनुमा आफूले जिम्मेवारी लिने बताएका हुन् । ‘मलाई लाग्छ हामी गलत साबित भयौं, हामीले पूरै प्रयास गरेका थियौं, त्यसमा कुनै कसर छाडेका थिएनौं, कही न कही हामी गलत साबित भयौं,’ उनले भनेका छन् ।
यद्यपि केहीले भने यो फिल्म मन पराएका छन् । उनले दर्शकलाई धन्यवाद दिँदैं भनेका छन्, ‘केहीलाई फिल्म मन प-यो, हामी उनीहरुलाई धन्यवाद दिन चाहन्छौं, तर केही कम मानिसलाई मन परेन, हामीलाई महसुस भएको छ, हामी यसको जिम्मेवारी लिन्छौं।’
उनले दर्शकलाई मनोरन्जन दिन नपाएकोमा माफी पनि मागेका छन् ।
अमिताभ बच्चन, क्याटरिना कैफ, आमिर खान अभिनित फिल्म ठग्स अफ हिन्दुस्तान गत ८ नोभेम्बरमा रिलिज भएको थियो । यसले पहिलो दिन कमाईको रेकर्ड बनाएको थियो । पहिलो दिनको कुल कमाई ५२ करोड थियो । तर त्यसपछि कमाई कम हुँदै गयो । फिल्म समीक्षक तरण आदर्शका अनुसार यो फिल्मले पहिलो सातामा १३४ करोड कमाई गरेको थियो ।
आमिरको फिल्मको रेकर्ड कस्तो थियो ?
सिक्रेट सुपरस्टार : सन् २०१७ मा प्रदर्शनमा आएको यो फिल्मको पहिलो दिनको कमाई ४.८० करोड थियो भने शुक्रबारको कमाई ९.३० करोड रह्यो ।
दंगल : सन् २०१६ को यो फिल्म ४ हजार हलमा रिलिज भएको थियो भने पहिलोदिनको कमाई करिब २९ करोड रह्यो ।
पीके : सन् २०१४ मा आमिरको उत्कृष्ट फिल्म मानिएको पीकेले पहिलो दिन २६ करोड कमाएको थियो ।
धूम ३ : धूम सिरिजको यो तेस्रो फिल्म २०१३ मा रिलिज भएको थियो । पहिलो दिन यसले ३६ करोड कमाई गरेको छ ।
थ्री इडियट्स : सन् २००९ मा रिलिज यो फिल्मले पहिलो दिन १३ करोड रुपियाँ कमाई गरेको थियो ।