९० को दशकका चर्चित प्लेब्याक सिंगर मोहम्मद अजिजको ६४ वर्षको उमेरमा निधन भएको छ । उनी १७ वर्षदेखि गुमनाम जिन्दगी जिइरहेका थिए । छातिमा समस्या देखिएपछि उनलाई मुम्बईको नानावती अस्पतालमा लगिएको थियो । त्यहाँ हृदयाघातका कारण उनको निधन भएको हो । उनको आज बुधबार मुम्बईमा अन्तिम संस्कार गरिनेछ ।
१९५४ मा पश्चिम बंगालमा जन्मिएका अजिजले आफ्नो गायन करिअरको सुरुवात कोलकाताको गालिब नामको रेष्टुराबाट सुरु गरेका थिए । उनले बलिउडका अलावा बंगाली, उडियालगायत अन्य क्षेत्रीय भाषामा पनि गाएका थिए । उनी मोहम्मद रफीका फ्यान थिए ।
एउटा गीतले बदलियो जिन्दगी
उनी सन् १९८२ मा मुम्बई आएका थिए । उनलाई सबैभन्दा पहिला सपन जगमोहनले ब्रेक दिएका थिए । अजिजले संघर्षका दिन संगितकार अनु मलिकको घर पनि धाउने गर्थे । अनु मलिक पनि त्यतिबेला संघर्ष गरिरहेका थि । एक दिन अनु मलिकले अजिजलाई बोलाएर फिल्म मर्दको ‘मर्द टांगेवाला...’ गीत दिए । यो सुपरहिट भएपछि उनको भाग्य नै बदलियो ।
एक अन्तर्वार्तामा अजिजले भनेका थिए– मैले ८० र ९० को दशकमा कयौं सुपरहिट गीत गाएँ, यसका बाबजूद मेरो नाम अवार्ड कार्यक्रममा लिइएन, हिट गीत दिइरहेको थिएँ, तर कतिखेर म घरमा थन्किएँ थाहै भएन ।’
अजिजका प्रख्यात गीत
उनले ‘उंगली में अंगूठी, अंगूठी में नगीना..’, ‘इस बात का खुदा गवाह..’, ‘मैं से मीना से ना...’, ‘हर करम अपना करेंगे ए वतन...’, ‘फूल गुलाब का...’, ‘लाल दुपट्टा मलमलका...’, ‘तेरा बीमार मेरा दिल...’, ‘माइ नेम इज लखन.. ’जस्ता हिट गीत दिए ।