चलचित्रमा पटकपटक सशक्त महिलाको भूमिका निभाउनुभएकी करिश्मा मानन्धरले वास्तविक जीवनमा भने कहिल्यै आफ्ना कुरा राख्न सकिनन् ।
दुई दशकसम्म गुम्साएर राखेका पीडा अचेल उनी खुलेरै भन्न थालेकी छिन्। उनी जस्तै अधिकांश महिलासमेत आफूले भोगेको असमान व्यवहारका बारेमा बोल्न नसकेको उनको अनुभव छ। नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्यसमेत रहेकी मानन्धर गाउँगाउँमा पुगेर महिलाको अवस्था देख्दा झनै दुःखी छिन्।
आमाले भोगेको समस्याका बारेमा उनले भनिन्, “एकल महिला भएकै कारण आमाले सम्पत्ति नपाउँदा अधिकार खोज्न सकिएन ।” जीवन निर्वाहका लागि आमासंगै आफू पनि कठिन परिश्रम गरेको स्मरण गर्दै नायिका मानन्धरले आमालाई आर्थिक सहयोग गर्न आफू सानै उमेरमा प्रति महीना रु तीन सय कमाउनका लागि मजदूरी गरेको बताइन्।
चौध वर्षको उमेरमा चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका मानन्धरले १८ वर्षको हुँदा विनोद मानन्धरसँग विवाह बन्धनमा बाँधिइन्।
चलचित्रको पर्दामा सधैँ एकपछि अर्काे सफलता हात पारेकी नायिका करिश्मालाई त्यसले मात्रै सन्तुष्टि दिएन । चलचित्र क्षेत्रमा प्रवेश गर्दा उहाँले पढाई बीचमा नै छाड्नुपरेको बताइन्। अहिले उनी ९ कक्षामा अध्ययनरत् छिन्। अरुले के सोच्छन्भन्दा पनि आफू के चाहन्छु भन्ने सोचेर विद्यालय भर्ना भएको नायिक करिश्मा बताउँछिन्।
उनले भनिन्, “सिनेमामा सफल नायिकाका रुपमा मात्र होइन, करिश्मा मानन्धरले जीवनमा सेल्स गर्लकोसमेत अनुभव बटुलेको छ।”
जीवनका चार दशक मौनतामा बिताउँदा मानन्धरलाई कहिल्यै आनन्द भएन। आफूले बाल्यकालदेखि भोगेका पीडा अचेल उनी खुलेर बाेल्छिन्। आफूले जीवनमा भोगेका पीडा र हिंसाका बारेमा खुलेर बोल्दा आनन्दको अनुभूति हुने गरेको नायिका करिश्माको भनाइ छ। “आफूले चाहेका कुरा गर्न र बोल्न पाउँदा हिजोआज म ढुक्कसँग निदाउन सक्छु”, उनले भनिन्। रासस