नेपाली चलचित्र छक्का पन्जा ३ ले नेपालगंजको क्यूएफएक्स हलमा ५१ औं दिन मनाउन सफल भएको छ । दिपाश्री निरौलाद्वारा निर्देशित यो चलचित्रले नेपालगंजको हलमा १७ वर्षपछि ५१ दिन मनाउन सफल भएको हो । बागेश्वरी चलचित्र हल भएको बेलामा श्रीकृष्ण श्रेष्ठद्वारा अभिनित नेपाली चलचित्र ‘दुःख सुख’ करिब ६० दिनसम्म प्रदर्शन भएको थियो । त्यसयता यो नै सर्बाधिक दिन प्रदर्शन गरिएको चलचित्र भएको प्रबन्धक निरजमान शाक्यले दावी गरे ।
उक्त हलमा घटस्थापनाको दिनबाट प्रदर्शन शुरु गरी बिहीबार ५१ दिन पुगेको क्यूएफएक्स नेपालगन्ज व्यवस्थापन समितिले जानकारी दिएको छ । सो अवसरमा क्यूएफएक्स नेपालगन्जका प्रबन्धक शाक्य सहितको टीमले केक काटेर खुसीयाली मनाएका थिए । उनले पछिल्लो समयमा दर्शकहरुले नेपाली चलचित्रलाई माया गर्दै आएको बताए। पहिलेको तुलनामा नेपाली चलचित्रको कथाबस्तु र प्रस्तुती उत्कृष्ट हुदैं गएकाले चलचित्र हेर्नेको संख्यामा वृद्धि भईरहेको समेत उनले जिकिर गरे ।
प्रबन्धक शाक्यले ५१ औ दिन सम्ममा २९ हजार दर्शकहरुले छक्कापन्जा ३ चलचित्र हेरेको जानकारी दिएका छन । कार्यक्रममा नेपालगन्जका बरिष्ठ पत्रकार पुर्णलाल चुके, चलचित्र पत्रकार संघ बाँकेका अध्यक्ष गणेश बिक, आरजे समीरमान श्रेष्ठ, रामचन्द्र पौडेललगायत नेपालगन्जका मिडियाका प्रतिनिधि सहभागी थिए ।