भारतीय अभिनेता कादर खानको निधन भएको छ। बलिउडका अभिनेता एवं लेखक खानको ८१ वर्षको उमेरमा निधन भएको हो।
स्वास प्रस्वास सम्बन्धी समस्या देखिएपछि क्यानडास्थित एक अस्पतालमा भर्ना भएका खानको उपचारका क्रममा निधन भएको छोरा सर्फराज खानले बताएका छन्।
सर्फराजका अनुसार कादरको क्यानेडियन समय अनुसार डिसेम्बर ३१ तारिख बेलुका ६ बजे निधन भएको थियो। कादर उपचारका लागि विगत १६ हप्तादेखि अस्पतालमै भर्ना भएका थिए। परिवारका सम्पूर्ण सदस्य क्यानडामै रहेकाले अभिनेता खानको अन्तिम संस्कार क्यानडामै गरिने बताइएको छ।
काबुलमा जन्मिएका खानले सन् १९७३ मा राजेश खन्ना अभिनित फिल्म ’दाग’बाट बलिउडमा डेब्यु गरेका थिए। कादरले तीन सयभन्दा बढी फिल्म खेलिसकेका छन्।