सुयोग गुरुङको डेब्यु निर्देशनमा फिल्म ‘सानो मन’ निर्माण हुने भएको छ। म्यूजिकल लभ स्टोरी जनरामा निर्माण हुने फिल्मको माघ ७ गतेबाट छायांकन सुरु हुँदैछ। माघे संक्रान्तिको अवसरमा राजधानीमा एक कार्यक्रमका बीच फिल्मको औपचारिक निर्माण घोषणा गरिएको छ।
‘सानो मन’मा अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केको जोडी बाँधिएको छ। यसअघि शिल्पाले ‘कागजपत्र’ र ‘द ब्रेकअप’ मा काम गरिसकेकी छिन्। आयुष्मानले ‘सानो मन’ फिल्म आफूले धेरै अगाडि साइन गरेको बताए। शिल्पाले पनि दुई वर्ष अगाडि आफू लण्डनमा हुँदा फिल्मको स्क्रिप्ट सुनिसकेको बताइन्।
फिल्मको घोषणा सभामा आयुष्मान भने, ‘मेरो क्यारेक्टरको नाम निर्वाण हो। फिल्मको स्टोरी नर्मल छ, मिठो छ, छोटो छ र राम्रो छ।’ अभिनेत्री शिल्पाले भने स्क्रिप्ट मन परेका कारण फिल्म छाड्न नसकेको बताइन्। उनी यस फिल्ममा सानियाको भूमिकामा देखिनेछिन्।
काठमाडौं, भैरहवा, हङकङ र मकाउमा छायांकन हुने फिल्मका निर्माताहरु योगेश गुरुङ, राजिव श्रेष्ठ र राजेन्द्र मानन्धर हुन्। फिल्म ओ.पि.जी. फिल्मस् र ए प्लस इन्टरटेन्मेन्टको ब्यानरको तल बन्नेछ। गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारहरुको पनि यसमा अभिनय रहनेछ।
समिर सुनवार र निर्देशक गुरुङको लेखनमा फिल्म बन्न लागेको हो। आलोक शुक्लाले खिच्ने फिल्ममा साजन सिंहको कोरियोग्राफी रहनेछ। कोरियोग्राफर सिंह बलिउड सुपरस्टार सलमान खानका ‘पर्सनल ट्रेनर’ हुन्। फिल्ममा सुयोग सोताङको संगीत रहनेछ।
निर्देशक गुरुङ ‘सानो मन’लाई आफ्नो ड्रिम प्रोजेक्ट बताउँछन्। उनी भन्छन्,‘ुकरीब २ वर्ष अगाडिको प्रोजेक्ट हो। तर, कहिले काहिँ आफैंलाई केही कुरामा चित्त नबुझ्दो रहेछ। यसैले केही समय लाग्यो।’ फिल्मको घोषणा सभामा अभिनेत्री गौरी मल्लको जन्मदिन समेत सेलिब्रेट गरिएको थियो।