विसं २०५२ पुसको एक दिन चैतमा जुम्ला फर्कन्छु भनी हिँडेका उनी फेरि फर्केनन्। कसैले धनगढीमा देखेको भने। कसैले उनी हरिद्वारमा जोगी भएर बसेका भने।
परिवारले पनि निकै खोजी ग-यो। आमाको निधनमा बुवा आउनुहुन्छ कि भनी छोराछोरीले निकै प्रचारप्रसार गरे, अहँ उनी आएनन्। तैपनि परिवारले उनको सम्झनामा हरेक वर्ष चैत्य बनाएर त्यहाँ उनका निजी वस्तु राखेर आजको दिन केही न केही कार्यक्रम गर्छ।
नेपाली मानवशास्त्रका पिता डोरबहादुर विष्ट हराएको २३ वर्ष भयो। बाँचेका भए आज ९३ वर्ष पुगेका हुन्छन्। नेपालमा मानवशास्त्र एवं समाजशास्त्रको अध्ययनअध्यापन र अनुसन्धान गराउने प्रथम व्यक्तित्व विष्टको ‘फेटलिज्म एण्ड डेभलपेण्ट’(भाग्यवाद र विकास) पुस्तक निकै चर्चित भयो।
भाग्यमा विश्वास राख्ने कारण र ब्राह्मणवादले नेपाली समाजको विकास नभएको भन्ने निष्कर्ष त्यसमा थियो। कृतिमा नेपाली समाजको तत्कालीन स्थिति, मानसिक अवस्था आधुनिकतामा पुस्तकले निकै विवाद पनि ल्यायो। उनले विसं २०४८ मा कर्णाली इन्स्टिच्यूट खोली कर्णालीका जनतालाई शिक्षा, विद्युत् आदि पूर्वाधार पु-याएका थिए।
उनका ‘सबै जातको फूलबारी’, ‘पिपल अफ नेपाल’, ‘एन्थ्रोपोलोजी इन नेपाल’लगायत मानवशास्त्र र समाजशास्त्रसँग सम्बन्धित पुस्तकका साथै ‘सोताला’(तिब्बतमा नेपाली पति र तिब्बती पत्नीबाट जन्मेका सन्तानको कथा) शीर्षक उपन्यास र केही कथा प्रकाशित छन्।
भाग्यवाद र विकास कृति नेपाली पनि अनुवाद भइसकेको छ जसको प्रकाशन हुन मात्र बाँकी रहेको अनुवादक वसन्त थापाले जानकारी दिए।
डोरबहादुरका पुत्र पूर्वमन्त्री केशरबहादुर विष्टले माओवादीले बुवाले कर्णालीमाथि आठ वर्ष लगाएर अनुसन्धान गरेका कागजपत्र जलाएर भयङ्कर गल्ती गरेको बताउँदै इन्स्टिच्यूट मर्मतका लागि त्यहाँको स्थानीय तहले आठ लाख छुट्याएको र अनुसन्धान गर्न चाहनेका लागि दुई कोठा उपलब्ध गराइएको जानकारी दिए। उनले बुवाले ३०–४० वर्ष लगाएर खिंचेका हजारौँ तस्वीर भने घरमा सुरक्षित रहेको बताए।
त्रिवि मानवशास्त्र विभागमा प्रमुख डम्बर चेम्जोङले विभागले उनका योगदानलाई संस्थागत एवं व्यवस्थित गर्ने तथा मानवशास्त्र र समाजशास्त्र विषयको पाठ्यक्रममा उनको जीवनी र योगदान पनि समावेश गरिने जानकारी दिए।
विष्टका शिष्य प्रा डा विन्दु पोखरेल र राम क्षेत्रीले विष्टले कक्षामा नेपाली संस्कृति र समाजलाई रोचक ढङ्गले व्याख्या गर्ने तथा आफ्ना भोगाइहरु पनि प्रस्तुत गरेर समाज चिनाउन अझ बढी मेहनत गर्नु पर्नेमा जोड दिए।
सो अवसरमा विष्टको जीवनी र योगदानमा आधारित सचिन घिमिरे र गौरव केसीद्वारा तयार गरिएको ‘डिसएपरियरिङ इन मिस्ट’(कुहिरोमा हराउँदा) विषयको छ वर्ष लगाएर बनाइएको ९२ मिनेटको वृत्तचित्र प्रदर्शन गरिएको थियो।
वृत्तचित्रमा विष्टकी छोरीले बुवाले आफू बित्दा सन्तान वा परिवारले संस्कार गर्न नपर्ने गरी अलप हुने भनेर धेरैचोटि बताएको कुरा थाहा पाउन सकिन्छ। हाल मूर्तिकार रामकृष्ण भण्डारीले विष्टको मूर्ति बनाउँदै गरेको थाहा भएको छ। रासस