वरिष्ठ साहित्यकार तथा भाषाविद् प्राध्यापक बालकृष्ण पोखरेलको निधन भएको छ।
मस्तिष्कघातबाट पीडित प्राध्यापक पोखरेलको रक्तचाप एक्कासी घटेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। ८६ वर्षीय पोखरेललाई भारतको सिक्किमस्थित गान्टोकमा रहेकाे छोरीको घर गएको बेलामा मस्तिष्कघात भएको थियो।
गान्टोकबाट काठमाडौं ल्याइएका उनको नर्भिक अस्पतालमा उपचार भएको थियो। स्वास्थ्यमा केही सुधार भएपछि उनलाई विराटनगर लगेर स्पार्क अस्पतालमा उपचार गराइएको थियो।
एक्कासी स्वास्थ्य बिग्रिएपछि गत शनिवार श्री अस्पतालमा भर्ना गरिएकोमा स्वास्थ्यमा सुधार नआएपछि उनलाई घर लगिएको थियो। उनको गएराति १ बजे बिराटनगरको जलेज रोडस्थित आफ्नै घरमा निधन भएको हो।
पोखरेलले १ सय बढी पुस्तक लेखेका छन्। उनी २०३६ देखि २०४१ सम्म नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य रहेका थिए।