हम आपके हैं कौन, हम साथ–साथ है, एक विवाह ऐसा भी, प्रेम रतन धन पायोजस्ता पारिवारिक र रोमान्टिक फिल्मका निर्माता राजकुमार बडजात्याको निधन भएको छ । उनको रिलायन्स हरकिसन दास अस्पतालमा निधन भएको हो । उनी राजश्री प्रोडक्सनका संस्थापक ताराचन्द बाडजात्याका छोरा हुन् । राजश्रीलाई राजकुमारका छोराहरुले सम्हाल्दै आएका छन् ।
राजश्री प्रोडक्सनले उनको निधनको पुष्टि गर्दै भनेको छ, ‘सुरज बडजात्याका पिता राजकुमार बडजात्या रहेनन् ।’ उनी बलिउडमा ‘राजबाबु’ का नामले चिनिन्थे ।
बलिउड अभिनेता अनुपम खेरले पनि उनको निधनमा शोक व्यक्त गरेका छन् । खेरको पहिलो फिल्म ‘सारांश’ पनि राजश्री प्रोडक्सनले नै बनाएको थियो । यही फिल्मबाट अभिनेताका रुपमा अनुपम खेरले परिचय बनाएका थिए ।
राजकुमार बडजात्याले नै टेलिभिजनलाई एक मौका रुपमा लिँदैं फिल्मको ट्रेलर बना सुरु गरेका थिए । फिल्म रिलिज हुनुअघि त्यसको संगीतलाई सर्वसाधारणसमक्ष पु¥याउन उनले महत्वपूर्ण काम गरेका थिए । उनले बलिउडमा कयौं वर्ष सहायक निर्माताका रुपमा काम गरेका थिए । हम आपके है कौनबाट उनी पूर्ण रुपमा निर्माता बनेका थिए । उनको अन्तिम फिल्म यही फेब्रुअरीमा बनेको फिल्म ‘हम चार’ थियो । राजश्रीले बनाएका मैने प्यार किया, दोस्त, नदिया के पार, अखियों के झरोखेंसे र चित्तचोरजस्ता फिल्म बहुचर्चित मानिन्छन् । राजश्रीले बनाएको दोस्तीले ६ फिल्मफेयर अवार्ड जितेर रेकर्ड नै बनाएको थियो । उनका छोरा सुरज बडजात्याले २४ वर्षकै उमेरमा ‘मैने प्यार किया’ निर्देशन गरेर बलिउडमा पाइला राखेका थिए ।