बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले धोका दिएको भन्दै भारत उत्तर प्रदेशको मुरादाबादका एक कार्यक्रम आयोजकले विष सेवन गरेका छन् । घटनापछि सिन्हासमेत ५ जनाविरुद्ध ३७ लाख रुपियाँ ठगी आरोपमा मुद्दा दायर गरिएको छ ।
प्रमोद शर्मा नामका आयोजकले गत ३० सेप्टेम्बरमा ‘इण्डिया फेसन एण्ड ब्युटी अबार्ड कार्यक्रम’ आयोजना गरेका थिए । अवार्ड वितरणका लागि सोनाक्षीलाई निम्ता गरिएको थियो । यसका लागि आयोजकले ट्यालेन्ट फुल अन कम्पनीसँग सम्झौता गरेका थिए । प्रमोद शर्माका अनुसार सोनाक्षीका निजी सहयोगी माल्भिका पन्जाबीसँग कुरा गरेपछि ३७ लाख रुपियाँ उनको खातामा अनलाइन ट्रान्सफर गरिएको थियो । तर सोनाक्षीले पछि कार्यक्रममा जान अस्विकार गरिन् ।
आयोजक प्रमोद शर्माले आफू ठगिएको भन्दै प्रहरीमा जाहेरी दिएपछि कारवाही अगाडि नबढेको भन्दै गत १३ फेब्रुअरीका दिन विष सेवन गरेको बताइएको छ । प्रहरी अनुसन्धानपछि अभिनेत्री सोनाक्षी, ट्यालेन्ट फुल अन कम्पनीका अभिषेक सिन्हा, सोनाक्षीकी निजी सहयोगी माल्भिका पन्जाबी, धुमिल ठक्कर र एडगर सकारियालाई आरोपी बनाइएको छ ।